मानव आवाज

२०८३ असार १५ गते
00: 00: 00
२०८३ असार १५ गते

एचआईभीबारे भ्रम हटाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण : विज्ञ

पोखरा । एचआईभी/एड्स सम्बन्धी सचेतना फैलाउन, समुदायमा रहेका भ्रम र विभेद अन्त्य गर्न तथा समयमै परीक्षण र उपचारमा पहुँच बढाउन सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण रहेको सरोकारवालाले बताएका छन् ।

पोखरा महानगरपालिका स्वास्थ्य महाशाखा, प्रादेशिक जनस्वास्थ्य केन्द्र गण्डकी प्रदेश र एएचएफ नेपालको संयुक्त आयोजनामा आइतबार पोखरामा सम्पन्न पत्रकार अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रममा एएचएफ नेपालका कन्ट्री डाइरेक्टर दिव्यराज जोशीले सन् २०३० सम्म एचआईभी महामारी अन्त्य गर्ने लक्ष्य हासिल गर्न सरकार, स्वास्थ्य संस्था, सञ्चारमाध्यम र समुदायबीचको सहकार्य अझ प्रभावकारी हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा सार्वजनिक गरिएको तथ्याङ्कअनुसार गण्डकी प्रदेशमा उपचारमा रहेका १ हजार ६ सय ३८ एचआईभी सङ्क्रमितमध्ये भाइरल लोड परीक्षण गराएका १ हजार ४ सय ६० जनामध्ये १ हजार ४ सय २५ जनाको भाइरल लोड नियन्त्रणमा रहेको छ, जुन परीक्षण गराएकामध्ये करिब ९८ प्रतिशत हो ।

हाल प्रदेशमा ११ ओटा एचआईभी परीक्षण तथा परामर्श (एचटीसी) केन्द्र, ११ ओटा एआरटी (एन्टिरिट्रोभाइरल उपचार) केन्द्र र चार ओटा एआरभी औषधि वितरण केन्द्र सञ्चालनमा रहेका छन् ।

प्रादेशिक जनस्वास्थ्य केन्द्रका जनस्वास्थ्य अधिकृत लक्ष्मण बसौलाले एचआईभी परीक्षण सेवाको पहुँच विस्तारसँगै परीक्षण गराउनेको सङ्ख्या वर्षेनी बढ्दै गएको बताउनुभयो ।

उहाँका अनुसार आर्थिक वर्ष २०८०/८१, २०८१/८२ र २०८२/८३ (जेठसम्म) को तुलनात्मक तथ्याङ्कले कास्की, स्याङ्जा, तनहुँ, म्याग्दी र बागलुङ जिल्लामा परीक्षणको दायरा उल्लेखनीय रूपमा विस्तार भएको देखाएको छ ।

उहाँले प्रदेशभर सञ्चालित एएचएफ केन्द्रमार्फत पछिल्ला तीन वर्षमा आमाबाट शिशुमा सङ्क्रमण रोक्ने (पीएमटीसीटी) कार्यक्रमअन्तर्गत १ लाख ३० हजार ४९ गर्भवती महिलाको एचआईभी परीक्षण गरिएको जानकारी दिनुभयो ।

प्रस्तुत तथ्याङ्कअनुसार उपचारमा रहेका १ हजार ६ सय ३८ सङ्क्रमितमध्ये ८ सय ६८ पुरुष, ७ सय ६५ महिला र ५ जना तेस्रोलिङ्गी छन् ।

उमेर समूहका आधारमा ०–१४ वर्षका ३१ जना र १५ वर्षभन्दा माथिका १ हजार ६ सय ७ जना नियमित एआरटी सेवामा आबद्ध छन् ।

फिजिसियन डा. राजेन्द्र पौडेलले समयमै परीक्षण, नियमित औषधि सेवन र चिकित्सकीय निगरानीका कारण एचआईभी सङ्क्रमितले सामान्य र स्वस्थ जीवन बिताउन सक्ने बताउनुभयो ।

उहाँले सङ्क्रमण लुकाउनुको सट्टा परीक्षण गराई उपचारमा आउन आग्रह गर्दै समाजमा अझै विद्यमान भ्रम र विभेद हटाउन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

एएचएफ नेपालकी श्रीमाया सिग्देलले संस्थाले एचआईभी परीक्षण, परामर्श, उपचार सहयोग, समुदायस्तरको जनचेतना अभिवृद्धि तथा सङ्क्रमितको जीवनस्तर सुधारका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।

पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाका अर्जुन क्षेत्रीले महानगरले जोखिम समूहसम्म परीक्षण सेवा विस्तार, जनचेतना अभिवृद्धि तथा सङ्क्रमितलाई उपचारमा पहुँच सुनिश्चित गर्न विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो ।

उहाँले एचआईभी केन्द्रमार्फत परीक्षण, परामर्श, नियमित उपचार तथा निःशुल्क औषधि वितरण सेवा उपलब्ध हुँदै आएको जानकारी दिनुभयो ।

Author

Share the News

Recent News

Related News