पोखरा । सामाजिक सेवामा समर्पित संस्था लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एम, नेपालको सन् २०२६–२७ का लागि तय गरिएको “मानवताका लागि एकता” भन्ने मूल नाराअनुसार क्लस्टर–६, रिजन–१३ अन्तर्गत जोन–२६ का क्लबहरूको डिस्ट्रिक्ट गभर्नर्स प्रि–एड्भाइजरी कमिटी (डीजीपीएसी) बैठक सम्पन्न भएको छ ।
पोखरा महानगरपालिका–८, न्यूरोडमा आयोजित बैठक जोन–२६ का जोन चेयरपर्सन लायन छवि पौडेलको अध्यक्षतामा सम्पन्न भएको हो ।
जोन–२६ अन्तर्गत रहेका चार क्लबमध्ये तीन क्लबका पदाधिकारीहरूको सहभागितामा बैठक आयोजना गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि तथा डिस्ट्रिक्ट चिफ एड्भाइजर लायन शिवराज आचार्यले लायन्स नेतृत्वले समय व्यवस्थापन, उत्तरदायित्वबोध र गुणस्तरीय सामाजिक सेवा कार्यक्रम सञ्चालनमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
उहाँले सन् २०२६–२७ का रणनीतिक योजना, क्लब सुदृढीकरण, दिगो नेतृत्व विकास तथा लायन्सको मापदण्डअनुसार सदस्यता अध्यावधिकलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिनुभयो ।
आचार्यले पारदर्शिता, जवाफदेहिता र सामाजिक उत्तरदायित्वलाई उच्च प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्न तथा गुणस्तरीय नयाँ सदस्य भित्राउन सबै क्लब नेतृत्वलाई आग्रह गर्नुभयो ।
प्रत्येक क्लबलाई कम्तीमा २० सदस्यसहितको स्वस्थ, सक्रिय र प्रभावकारी क्लबका रूपमा विकास गर्नुपर्ने उहाँको भनाइ थियो ।
बैठकमा डिस्ट्रिक्ट वर्कसप एन्ड ट्रेनिङ डाइरेक्टर लायन डा. टेकनारायण पौडेल तथा क्लस्टर–६ की क्लस्टर चेयरपर्सन लायन सम्झना रानाभाटले क्लब पदाधिकारी (पीभीएटी) का काम, कर्तव्य र जिम्मेवारी, डिस्ट्रिक्ट तथा अन्तर्राष्ट्रिय कार्यक्रम, क्लबले सञ्चालन गर्ने परियोजना, कार्यसम्पादन प्रतिवेदन, समस्या समाधान तथा क्लब, जोन र डिस्ट्रिक्टबीचको समन्वयका विषयमा धारणा राख्नुभयो ।
बैठकमा परिचयात्मक कार्यक्रम, आगामी जोन बैठक आयोजना गर्ने विषय तथा अन्य समसामयिक एजेन्डामाथि समेत छलफल गरिएको थियो ।
जोन–२६ अन्तर्गतका लायन्स क्लब अफ पोखरा स्काई टाउन, लायन्स क्लब अफ पोखरा पिस हिमालयन सिटी र लायन्स क्लब अफ पोखरा स्मार्ट टाउनका अध्यक्षहरूले आगामी कार्यकालका योजना तथा प्राथमिकताहरू प्रस्तुत गरेका थिए ।
उनीहरूले स्वास्थ्य शिविर, रक्तदान अभियान, शिक्षा सहयोग, सरसफाइ, वृक्षारोपण, विपद् व्यवस्थापन, नेतृत्व विकास, सदस्य वृद्धि, महिला तथा युवाको सहभागिता विस्तार, क्लब सुदृढीकरण, वातावरण संरक्षण, विद्यालय छात्रवृत्ति, शैक्षिक सामग्री वितरण तथा विपन्न परिवारलाई आर्थिक सहयोगलगायतका कार्यक्रमलाई प्राथमिकतामा राखिएको जानकारी दिएका थिए ।
बैठकमा तीन ओटै क्लबका अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, सचिव तथा कोषाध्यक्षको सक्रिय सहभागिता रहेको थियो ।