मानव आवाज

२०८३ बैशाख ११ गते
00: 00: 00
२०८३ बैशाख ११ गते

लायन्स क्लब डिस्ट्रिक्ट ३२५ एमको संयुक्त रिजन कन्फ्रेन्स पोखरामा सम्पन्न

पोखरा । लायन वर्ष २०२५-२६ को मूल नारा “खुशीका लागि सेवा” लाई आत्मसात् गर्दै लायन्स क्लब इन्टरनेशनल अन्तर्गत डिस्ट्रिक्ट ३२५ एम, नेपाल क्लस्टर-२ का रिजन ४, ५ र ६ को संयुक्त आयोजनामा रिजन कन्फ्रेन्स कार्यक्रम २०८२ चैत ९ गते पोखरा महानगरपालिका-५, पर्याङमा सम्पन्न भएको छ ।

कार्यक्रम राष्ट्रिय गान, राष्ट्रिय झण्डाको अभिवादन तथा विश्वशान्तिका लागि एक मिनेट मौन प्रार्थनासहित औपचारिक रूपमा सुरु गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी युनिभर्सिटीका कुलपति प्रा. डा. ईन्द्रप्रसाद तिवारीले लायनिजम केवल सङ्गठन नभई सेवा, समर्पण र मानवताको सशक्त अभियान भएको बताउनु भयो ।

उहाँले लायन्सले समुदायबीच सहकार्य, समझदारी र साझेदारीको पुल निर्माणमा महत्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गर्नु भयो ।

कार्यक्रममा डिस्ट्रिक्ट ३२५ एम, नेपालका डिष्ट्रिक्ट गभर्नर पिएमजेएफ लायन धनिराम बराल, सेकेन्ड भिडिजी किशोर बराल, सेक्रेटरी लायन जगन्नाथ तिमिल्सिना, प्रोटोकल चिफ लायन दिनबन्धु पौडेल, क्लस्टर-२ का क्लस्टर चिफ लक्ष्मी कोइराला, जोन १२ का जोन चियरपर्सन इन्जिनियर नेत्रप्रसाद तिमिल्सिना तथा जोन ९ का जोन चियरपर्सन लायन प्रेम क्षेत्रीले आआफ्ना भनाइ राख्दै सामाजिक विकासमा लायन्स क्लबको योगदानको प्रशंसा गर्नु भयो ।

यसैगरी, निर्वतमान डिष्ट्रिक्ट गभर्नर लायन चण्डीप्रसाद अर्यालले स्वास्थ्य, शिक्षा र वातावरणलगायतका क्षेत्रमा लायन्स क्लबले गरेको कार्यको समीक्षा प्रस्तुत गर्दै विभिन्न विषयमा सहजीकरण गर्नु भएको थियो ।

कार्यक्रमका अवसरमा स्याङ्जाको फेदीखोला गाउँपालिकाकी सामाजिक अभियान्ता कमला पराजुलीलाई अभिभावकविहीन बालबालिकाको शिक्षा, स्वास्थ्य, पालनपोषण तथा समग्र विकासमा पुर्‍याएको योगदानको उच्च कदर गर्दै सम्मान गरिएको थियो ।

त्यसैगरी विगत १८ वर्ष देखि महिला सशक्तिकरण, अपाङ्गता अधिकार प्रवर्धन तथा समावेशी विकासमा सक्रिय सामाजिक अभियान्ता स्वालम्बन जीवन  पद्धति केन्द्रकी अध्यक्ष अञ्जना केसीलाई सम्मान गरिएको थियोे ।

रिजन–६ का चियरपर्सन लायन नवराज अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य रिजन-६ का चियरपर्सन लायन नरकुमार सुनार (शिव)ले दिएका थिए भने सञ्चालन रिजन–४ का चियरपर्सन लायन लेखनाथ सुवेदीले गरेका थिए ।

कार्यक्रममा विभिन्न रिजन, क्लस्टर र जोन अन्तर्गतका लायन्स लिडर तथा क्लबका पदाधिकारीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

Author

Related News