पोखरा । प्रेस क्लब गण्डकीको आयोजना तथा पोखरा महानगरपालिकाको सहयोगमा नागरिकसँग न्यायिक प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम शुक्रबार पोखरा महानगरपालिका-२३, बराङमा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरूङले समाजमा सद्भाव र शान्ति कायम गर्न घरपरिवार र समुदाय स्तरबाटै प्रयास शुरू गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले सबै नागरिकलाई न्यायमा समान पहुँच पुर्याउने उद्देश्यसहित स्थानीय तहमा न्यायिक समितिको परिकल्पना गरिएको बताउनुभयो ।
उपप्रमुख गुरुङका अनुसार नागरिकले आफूले निर्वाचित गरेका जनप्रतिनिधिसँग आफ्ना समस्या तथा विवाद सहज रूपमा राख्न सकून्, छिटोछरितो समाधान पाऊन्, आर्थिक भार कम होस् र समयको बचत होस् भन्ने उद्देश्यले न्यायिक समिति गठन गरिएको हो ।
“अदालतसम्म विवाद पुग्दा समय र खर्च दुवै बढी हुने भएकाले स्थानीय स्तरमै मेलमिलापमार्फत समाधान खोज्दा समाजमा सद्भाव र शान्ति कायम गर्न सहज हुन्छ ।”-उहाँले भन्नुभयो ।
उहाँले न्यायिक समितिले विवाद हुन नदिन तथा विवाद भएमा मेलमिलापलाई प्राथमिकतामा राखेर काम गरिरहेको जानकारी दिनुभयो ।
“हामी सबै शान्ति र सद्भाव चाहन्छौँ । त्यसैले समाजमा हुने विवादलाई स्थानीय तहमानै समाधान गरेर अदालतसम्म पुग्न नदिने वातावरण निर्माण गर्नुपर्छ ।”-उहाँले थप्नुभयो ।
कार्यक्रममा डा. योगी विकासानन्द ले पोखरा महानगरपालिका-२३ मा रहेको मनोक्रान्ति आश्रमले आध्यात्मिक ज्ञानमार्फत मानिसलाई मानसिक शान्ति र आनन्द प्रदान गर्ने केन्द्रका रूपमा पहिचान बनाएको बताउनुभयो ।
ध्यान र ज्ञानको माध्यमबाट मानिसलाई सकारात्मक परिवर्तनतर्फ उन्मुख गराउने वातावरण आश्रमले निर्माण गरेको उहाँको भनाइ थियो ।
उहाँले आश्रममा देशविदेशबाट मानिसहरू आउने गरेको उल्लेख गर्दै पोखराबासीले पनि यसको लाभ लिनुपर्नेमा जोड दिनुभयो ।
पोखरा महानगरपालिका-२३ का वडासदस्य चेतबहादुर क्षेत्रीले न्यायिक समितिबारे जानकारी गराउने उद्देश्यले विकट भूगोलमा समेत कार्यक्रम सञ्चालन गरिएकोमा खुसी व्यक्त गर्नुभयो ।
उहाँले आध्यात्मिक रूपमा परिचित यस क्षेत्रमा सद्भाव कायम रहने र विवाद उत्पन्न भए मेलमिलापमार्फत समाधान गरिने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा न्यायिक समिति सदस्य कालिदास पोखरेल ले न्यायिक समितिको गठन प्रक्रिया र अधिकार क्षेत्रबारे जानकारी दिनुभयो भने मेलमिलापकर्ता समन्वयकर्ता सोम लम्सालले मेलमिलाप सूचीकृत प्रक्रिया, आचारसंहिता र योग्यताबारे प्रशिक्षण तथा सहजीकरण गर्नुभएको थियो ।
प्रेस क्लब गण्डकीका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव गौरव त्रिपाठी ले गर्नुभएको थियो ।
कार्यक्रममा स्थानीय जनप्रतिनिधि, आमा समूह, टोल विकास समितिका प्रतिनिधि तथा विभिन्न सञ्चारमाध्यममा आबद्ध सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।

यसैबिच, प्रेस रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशको आर्थिक सहयोगमा सञ्चालित मिडिया तालिममा पछिल्लो समय बढ्दै गएको भ्रामक तथा तथ्यहीन समाचार पहिचान गर्ने विषयमा प्रशिक्षक दिपककुमार श्रेष्ठले प्रशिक्षण दिनुभएको थियो ।
उहाँले कुन सञ्चारमाध्यमबाट प्रकाशित समाचार विश्वसनीय हो र कुन समाचार भ्रामक हुन सक्छ भन्ने जानकारीको अभावमा धेरैले गलत सूचनालाई नै सही ठान्ने गरेको बताउनुभयो ।
सञ्चारकर्मी स्वयम्ले पनि समाचार र सूचनाको स्रोत छुट्याउन नसक्दा समाचार लेखनमा प्रभाव पर्न थालेको उहाँको भनाइ थियो ।
प्रशिक्षक श्रेष्ठले पछिल्लो समय एल्गोरिदमका कारण कुनै समाचार क्षणभरमै भाइरल हुने तर धेरै मेहनत गरेर तयार गरिएका सामग्रीको प्रभाव अपेक्षाकृत कम हुने अवस्था देखिएको उल्लेख गर्नुभयो ।
कार्यक्रममा सहभागीहरूले एआई प्रविधि तथा समाचार क्षेत्रमा यसको प्रयोगबारे समेत जानकारी लिएका थिए ।
तालिममा समाचार, सूचना, भिडियो, सामाजिक सञ्जाल पोस्ट, विज्ञापन वा अन्य सामग्रीलाई बुझ्ने, विश्लेषण गर्ने, सत्यअसत्य छुट्याउने तथा जिम्मेवार रूपमा प्रयोग गर्ने क्षमताबारे प्रशिक्षण दिइएको थियो ।
डिजिटल युगमा फेसबुक, टिकटक, युट्युब, अनलाइन समाचार तथा एआईबाट उत्पादित सामग्रीको बढ्दो प्रयोगसँगै मिडिया साक्षरताको आवश्यकता झन् बढेको सहभागी पत्रकारहरूको भनाइ थियो ।
अर्का प्रशिक्षक तथा फोटोपत्रकार राम गुरुङले पत्रकारितामा फोटोको प्रयोग र यसको प्रभावकारिताबारे प्रशिक्षण दिनुभयो ।
उहाँले अनलाइन समाचार पोर्टलमा फोटो तथा भिडियोको प्रयोग, समाचारअनुसार उपयुक्त तस्बिर छनोट र विभिन्न परिस्थितिमा फोटो खिच्ने तरिकाबारे सहजीकरण गर्नुभएको थियो ।