मानव आवाज

२०८३ जेष्ठ १७ गते
00: 00: 00
२०८३ जेष्ठ १७ गते

एकल महिलाको नेतृत्व विकास र कानुनी सचेतना तालिम पोखरामा सुरु

पोखरा । मानवअधिकारका लागि महिला, एकल महिला समूह कास्कीको आयोजना तथा पोखरा महानगरपालिकाको सामाजिक विकास महाशाखाको सहयोगमा एकल महिला सशक्तीकरणका लागि नेतृत्व विकास, मनोसामाजिक परामर्श तथा कानुनी सचेतनासम्बन्धी तीनदिने तालिम २०८३ जेठ १७ गतेबाट सुरू भएको छ ।

“वैवाहिक सम्बन्धको आधारमा विभेद नगरौँ” भन्ने नारासहित सञ्चालन भएको तालिमको उद्घाटन गर्दै पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङले एकल तथा सीमान्तकृत महिलाको मानवअधिकार संरक्षण, कानुनी सचेतना र नेतृत्व विकासमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।

उहाँले समाजमा एकल महिलाले अझै पनि सामाजिक, मानसिक र कानुनी चुनौती सामना गर्नुपरेको उल्लेख गर्दै तालिमले आत्मनिर्भर बनाउँदै राज्यको मूलधारमा सहभागी गराउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

“एकल हुनु महिलाको कमजोरी, दोष वा पूर्वजन्मको फल होइन, जीवनको एउटा परिस्थिति मात्र हो ।”-उहाँले भन्नुभयो ।

विगतका सतीप्रथा तथा विधवामाथिका विभेदकारी अभ्यासहरू ठूलो सङ्घर्षपछि अन्त्य भएको स्मरण गर्दै उहाँले संविधानले सुनिश्चित गरेका महिला अधिकारको प्रभावकारी उपयोग गर्दै महिलाहरू नेतृत्व तहमा पुग्नुपर्नेमा जोड दिनुभयो ।

आसन्न स्थानीय र प्रदेश निर्वाचनलाई लक्षित गर्दै उपप्रमुख गुरुङले महिलाहरू केवल मतदाता नभई नीति निर्माणको तहमा प्रतिस्पर्धी उम्मेदवारका रूपमा स्थापित हुनुपर्ने धारणा राख्नुभयो ।

राष्ट्रिय मानवअधिकार आयोग पोखरा कार्यालयकी प्रमुख नितु गर्तौलाले एकल तथा विधवा महिलामाथि हुने सामाजिक लाञ्छना पूर्ण रूपमा अन्त्य हुन नसकेको बताउनुभयो ।

उहाँले सर्वोच्च अदालतले हालै गरेको, पुनर्विवाह गरेपछि पनि विधवा महिलाले पहिलो श्रीमान्तर्फको सम्पत्ति फिर्ता गर्नुनपर्ने निर्णयलाई प्रगतिशील र स्वागतयोग्य कदमको रूपमा व्याख्या गर्नुभयो ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) गण्डकी प्रदेशका संयोजक गणेश भण्डारीले मानवअधिकार सबैका लागि समान र नैसर्गिक अधिकार भएको उल्लेख गर्दै संविधान र कानुनले एकल महिला, आदिवासी जनजाति, दलित तथा पछाडि पारिएका समुदायका लागि विशेष अधिकार सुनिश्चित गरेको बताउनुभयो ।

उहाँले ती अधिकारको प्रभावकारी कार्यान्वयनका लागि नागरिक समाज र अधिकारकर्मी संस्थाहरूको सक्रिय भूमिका आवश्यक रहेको बताउनुभयो ।

मानवअधिकार रक्षक सञ्जाल गण्डकी प्रदेशका संयोजक रामहरी ढुङ्गानाले विगतको पुरुषप्रधान सामाजिक संरचनाको तुलना गर्दै अहिले महिलाहरू आफ्ना अधिकारका लागि सङ्गठित रूपमा अघि बढ्नु सकारात्मक परिवर्तनको सङ्केत भएको बताउनुभयो ।

कार्यक्रममा मानवअधिकारका लागि महिला, एकल महिला समूह कास्कीकी अध्यक्ष जुना खत्रीले तालिमको उद्देश्यबारे प्रकाश पार्दै एकल महिलालाई कानुनी रूपमा सचेत, मानसिक रूपमा सबल र नेतृत्वदायी भूमिकाका लागि सक्षम बनाउने लक्ष्य रहेको बताउनुभयो ।

यस्ता चेतनामूलक तथा सीपमूलक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने उहाँले जानकारी दिनुभयो ।

कार्यक्रमको सञ्चालन संस्थाकी सचिव विष्णु श्रेष्ठले गर्नुभएको थियो । तालिममा कास्की जिल्लाका विभिन्न स्थानीय तह र वडाबाट आएका एकल महिलाहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ ।

Author

Share the News

Recent News

Related News