मानव आवाज

२०८३ जेष्ठ १० गते
00: 00: 00
२०८३ जेष्ठ १० गते

नेकपा निकट मजदुर सङ्गठनद्वारा भवनसहित जग्गा फिर्ता

पोखरा । पोखरा महानगरपालिकाले अनधिकृत संरचना हटाउने सूचना जारी गरेपछि नेकपा निकट अखिल नेपाल ट्रेड युनियन महासङ्घ (गण्डकी प्रदेश) ले आफूले लामो समयदेखि उपयोग गर्दै आएको भवनसहितको जग्गा महानगरलाई फिर्ता गरेको छ ।

महासङ्घले पोखरा महानरपालिका-९ स्थित पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा २०६७ सालदेखि प्रयोग गर्दै आएको थियो ।

२०८३ जेठ ९ गते आयोजित कार्यक्रममा महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष रुद्र गौतमले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई भवनको चाबी र सम्बन्धित कागजात हस्तान्तरण गर्नुभएको हो ।

यातायात कार्यालय अगाडि रहेको करिब ४ रोपनी जग्गा महासङ्घले तत्कालीन समयमा मौखिक सहमतिमा उपयोगका लागि लिएको थियो ।

सोही जग्गामा सङ्गठनले करिब ५३ लाख रुपियाँ लागतमा दुईतले १३ कोठे भवन निर्माण गरी प्रयोग गर्दै आएको थियो । भवनबाट भाडासमेत सङ्कलन गरिँदै आएको बताइएको छ ।

जग्गा फिर्ता गरेपछि अध्यक्ष गौतमले भवन र जग्गाको राज्यले सदुपयोग गर्नुपर्ने धारणा राख्नुभयो ।

महानगरसँग पर्याप्त कार्यालय भवन नभएकाले उक्त संरचनालाई सरकारी प्रयोजनका लागि उपयोग गर्न सकिने उहाँको भनाइ थियो ।

उहाँले श्रमिकहरूको पसिना, पारिश्रमिक तथा विभिन्न दाताहरूको सहयोगबाट भवन निर्माण गरिएको उल्लेख गर्दै भत्काउनुको सट्टा राज्यले उपयोग गर्नुपर्ने उद्देश्यले हस्तान्तरण गरिएको बताउनुभयो ।

भवनको चाबी तथा कागजात ग्रहण गर्दै नगर प्रमुख धनराज आचार्यले सार्वजनिक सम्पत्ति फिर्ता गरेर मजदुर सङ्गठनले उदाहरणीय कार्य गरेको बताउनुभयो ।

उहाँले अन्य सङ्घसंस्था तथा सङ्गठनलाई पनि यस्ता सार्वजनिक सम्पत्तिको संरक्षणमा सहयोग गर्न आग्रह गर्नुभयो ।

पोखरा महानगरपालिकाले फिर्केखोला, पोखरा बसपार्कलगायत क्षेत्रमा निर्माण भएका अतिक्रमित संरचना हटाउन पटकपटक सूचना जारी गर्दै आएको छ ।

सोही अभियानअन्तर्गत महासङ्घले अस्थायी संरचना हटाउनुका साथै भवनसमेत महानगरलाई हस्तान्तरण गरेको हो ।

महानगरले पछिल्लो पटक दिएको अल्टिमेटमको अवधि सकिएको छ । महानगरले २०८३ जेठ १० गतेदेखि डोजर अभियान सुरु गर्ने तयारी गरेको जनाइएको छ ।

अभियानको सुरुवात फिर्केखोलाको खोलाघर क्षेत्रमा बनेका संरचना हटाएर गरिने नगर प्रमुख निकट स्रोतले जनाएको छ ।

एमाले निकट नेपाल ट्रेड युनियन महासङ्घ (जिफण्ट) र कांग्रेस निकट नेपाल ट्रेड युनियन कांग्रेसले पनि विभिन्न स्थानमा जग्गा उपयोग गरी कार्यालय भवन निर्माण गरेका छन् ।

Author

Share the News

Recent News

Related News