पोखरा । खेलकुद पत्रकार मञ्च गण्डकीले यस वर्षको ‘उत्कृष्ट खेल पत्रकार अवार्ड-२०८२’ युवा खेल पत्रकार दीनानाथ बराललाई प्रदान गर्ने भएको छ ।
पोखरा महानगरपालिका-२२ पुम्दीभुम्दीका स्थायी बासिन्दा बराल लामो समयदेखि खेल पत्रकारितामा सक्रिय रहँदै आउनुभएको छ ।
मञ्चले २०८३ वैशाख २४ गते आयोजित पत्रकार सम्मेलनमार्फत उहाँलाई यस वर्षको उत्कृष्ट खेल पत्रकार अवार्ड प्रदान गर्ने घोषणा गरेको हो ।
मञ्चका अध्यक्ष एमबी आस्थाले वर्षभर खेल क्षेत्रसँग सम्बन्धित विषयमा गरेको निरन्तर र प्रभावकारी रिपोर्टिङका आधारमा बराललाई अवार्डका लागि छनोट गरिएको जानकारी दिनुभयो ।
मञ्चले २०८३ वैशाख ३१ गते पोखरा-६ बुलौंदीस्थित पोखरा इभेन्ट सेन्टरमा ‘पोखरा स्पोर्ट्स अवार्ड-२०८२’ आयोजना गर्दैछ । सोही कार्यक्रममा बराललाई सम्मान गरिने मञ्चका वरिष्ठ उपाध्यक्ष राजाराम पौडेलले बताउनुभयो ।
बराल विगत दुई दशकभन्दा लामो समयदेखि पत्रकारितामा सक्रिय रहँदै आउनुभएको छ । उहाँ खेलकुद पत्रकार मञ्च गण्डकीका पूर्वअध्यक्षसमेत हुनुहुन्छ । हाल उहाँ रेडियो नेपाल, कारोबार दैनिक र पोखरा क्लिक डटकममा आबद्ध रहनुभएको छ ।
खेलकुद बिटलाई मुख्य आधार बनाएर पत्रकारिता गर्दै आउनुभएका बराल विभिन्न संघसंस्थाबाट सम्मानित तथा पुरस्कृत भइसक्नुभएको छ ।
मञ्चका अनुसार यस वर्ष पोखरा स्पोर्ट्स अवार्डअन्तर्गत ९ विधामा पुरस्कार प्रदान गरिनेछ । तीमध्ये पाँच विधाको मनोनयन सार्वजनिक भइसकेको जनाएको छ ।