मानव आवाज

२०८३ बैशाख ११ गते
00: 00: 00
२०८३ बैशाख ११ गते

डिस्ट्रिक्ट ३२५ एम, नेपालअन्तर्गत रिजन १०, ११ र १२ को संयुक्त कन्फ्रेन्स सम्पन्न

पोखरा । लायन वर्ष २०२५–२६ को थिम खुशीका लागि सेवा भन्ने मूल नाराका साथ लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एम, नेपालअन्तर्गत क्लस्टर-४ मा पर्ने रिजन १०, ११ र १२ को संयुक्त आयोजनामा रिजन कन्फ्रेन्स कार्यक्रम २०८२ चैत १३ गते पोखरा महानगरपालिका-५, पर्याङमा सम्पन्न भएको छ ।

कार्यक्रम विधिवत् शुभारम्भ घोषणा, राष्ट्रिय गान, राष्ट्रिय झण्डाको अभिवादन तथा विश्वशान्तिका लागि एक मिनेट मौन प्रार्थनासहित सुरु गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश सभा सदस्य भिमबहादुर कार्कीले लायन्स क्लब स्थानीय समुदायबीच सामाजिक सहकार्य, समझदारी तथा मानवीय सेवामा समर्पित उत्कृष्ट संस्था भएको उल्लेख गर्नु भयो ।

उहाँले विपत्, दैवीप्रकोप, शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा लायन्सले महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताउनु भयो ।

उहाँका अनुसार सामाजिक कार्यमा अनेक चुनौती भए पनि त्यसलाई निरन्तरता दिन सबैको एक्यबद्धता आवश्यक छ ।

आधारभूत सिद्धान्तको पूर्ण पालना नै साँचो मानवीय सेवा हुने उल्लेख गर्दै उहाँले वर्तमान समयमा नैतिक शिक्षा र आचरणमा सुधार ल्याउनु प्रमुख चुनौती रहेको धारणा व्यक्त गर्नु भयो ।

कार्यक्रममा लायन वर्ष २०२५/२६ का डिस्ट्रिक्ट गभर्नर पिएमजेएफ लायन धनिराम बराल, सेकेन्ड भिडिजी किशोर बराल, डिस्ट्रिक्ट प्रोटोकल चिफ लायन दिनबन्धु पौडेल, क्लस्टर–४ का क्लस्टर चिफ कोपिला श्रीस, सामाजिक अभियन्ता लोकदर्शन लामिछाने, अधिकारकर्मी तथा वातावरण अभियन्ता रामबहादुर पौडेल, वरिष्ठ साहित्यकार रमा पराशर सुद, नेपाल रेडक्रस सोसाइटी कास्कीका पूर्व सभापति दण्डपाणि शर्मा लगायतले मन्तव्य राख्नुभएको थियो ।

वक्ताहरूले पछिल्लो समय रगत अभावलाई मध्यनजर गर्दै रक्तसञ्चार क्षेत्रमा लायन्सले पुर्‍याएको अतुलनीय योगदानको प्रशंसा गरेका थिए ।

कार्यक्रममा डिस्ट्रिक्ट ३२५ एमका निर्वतमान डिस्ट्रिक्ट गभर्नर लायन चण्डीप्रसाद अर्यालले लायन्स क्लबका गतिविधि तथा विविध विषयमा सहजीकरण गर्नुभएको थियो ।

उक्त अवसरमा पाँच जना विशिष्ट व्यक्तित्वलाई सम्मान गरिएको थियो । प्रमुख अतिथि कार्कीले कास्की जिल्ला पोखरा महानगरपालिका-७ निवासी ९३ वर्षीया ज्येष्ठ नागरिक देवका क्षत्री, पोखरा-९ निवासी ८७ वर्षीया डिलमाया नेपाली तथा पोखरा-५ निवासी ८४ वर्षीया इन्द्रकली अधिकारीलाई लौरो, दोसल्ला र मालासहित सम्मान गर्नुभएको थियो ।

त्यसैगरी साहित्य क्षेत्रमा विशेष योगदान पुर्‍याएको भन्दै वरिष्ठ साहित्यकार रमा पराशर सुदलाई सम्मान गरिएको थियो ।

साथै ‘स्टुडेन्ट अफ द एयर’ रियालिटी शोमा द मोष्ट इम्प्याक्टफुल भोइस-२०२६ अवार्ड प्राप्त गर्न सफल आरोही शर्मालाई सम्मानपत्र प्रदान गरिएको थियो ।

रिजन-१२ का चियरपर्सन लायन रवी सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य रिजन-११ का चियरपर्सन लायन सुरेश केसीले राख्नुभएको थियो भने सञ्चालन रिजन-१० का चियरपर्सन लायन सम्झना रानाभाटले गर्नुभएको थियो ।

कार्यक्रममा रिजन, क्लस्टर तथा जोनअन्तर्गतका लायन्स लिडर तथा क्लबका पदाधिकारी (पिभिएसटी) सहित करिब ८० जनाको सहभागिता रहेको थियो ।

Author

Related News