मानव आवाज

२०८३ श्रावण २६ गते
00: 00: 00
२०८३ श्रावण २६ गते

पोखरामा गरियो मानवअधिकारका सवालमा अन्तरक्रिया

पोखरा । “समग्र विकासको अवरोध जातीय तथा लैङ्गिक विभेद” भन्ने नारासहित दलित महिला सङ्घ (फेडो), कास्कीको आयोजनामा २०८३ साउन २५ गते मानवअधिकार समन्वय समितिबिच अन्तरक्रिया कार्यक्रम पोखरामा सम्पन्न भएको छ ।

कार्यक्रममा मानवअधिकारका सवाल, सीमान्तकृत तथा पिछडिएका वर्गका अधिकार, न्यायमा पहुँचको अवस्था, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक, दलित तथा पछाडि पारिएका समुदायको उत्थानका विषयमा छलफल भएको थियो ।

सहभागीहरूले सरकारले यस्ता समुदायको अधिकार संरक्षण र उत्थानका लागि विभिन्न कार्यक्रम तथा नीति ल्याउँदै आए पनि अपेक्षित ठोस उपलब्धि हासिल हुन नसकेको धारणा राखेका थिए ।

कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोग, पोखरा कार्यालयकी प्रमुख नितु गर्तौला, कास्की जिल्ला बार एसोसिएसनका अध्यक्ष गणेशबहादुर आले, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत ओसिएमसीकी फोकल पर्सन मधुमाया पहारी, पोखरा महानगरपालिका-१५ की सदस्य रजनी परियार, जिल्ला प्रहरी कार्यालय कास्कीकी प्रहरी सहायक निरीक्षक रिता खड्का तथा गैरसरकारी संस्था महासङ्घ कास्कीकी अध्यक्ष इन्दिरा पौडेल, सचिव केशु भुजेलले स्थानीय तहमा मानवअधिकारको अवस्था सुदृढ बनाउन विभिन्न निकाय तथा समितिबिच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो ।

उनीहरूले मानवअधिकारका विषयमा हुने यस्ता अन्तरक्रियाले स्थानीयस्तरमा देखिएका समस्या पहिचान गर्न, सरोकारवाला निकायबिच समन्वय बढाउन र अधिकार संरक्षणका लागि प्रभावकारी पहल गर्न सहयोग पुग्ने धारणा राखे ।

कार्यक्रममा समुदायस्तरमा विभिन्न किसिमका घटना बढ्दै गएको भन्दै नागरिक स्वयम् सचेत र संवेदनशील हुनुपर्नेमा जोड दिइएको थियो ।

विशेषगरी बालबालिका, महिला, दलित, सीमान्तकृत तथा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका अधिकार संरक्षणका लागि समुदायस्तरबाटै सचेतना र निगरानी आवश्यक रहेको सहभागीहरूको भनाइ थियो ।

मानवअधिकार समन्वय समितिले आगामी दिनमा नियमित बैठक सञ्चालन गर्नुका साथै स्थानीयस्तरमा मानवअधिकारको अवस्थाबारे सूक्ष्म अनुगमन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

दलित महिला सङ्घ (फेडो), कास्कीकी अध्यक्ष लक्ष्मी खाती परियारको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कार्यक्रम संयोजक तनुजा परियारले गर्नुभएको थियो ।

Author

Share the News

Recent News

Related News