मानव आवाज

२०८३ बैशाख १२ गते
00: 00: 00
२०८३ बैशाख १२ गते

नागरिकका लागि बीमा अपरिहार्य : मन्त्री रिमाल

पोखरा । नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश कार्यालयको आयोजना तथा पोखरा चेम्बर अफ कमर्स कास्कीको सहकार्यमा बीमा सम्बन्धी जनचेतनामूलक छलफल एवम् अन्तरक्रिया कार्यक्रम २०८३ वैशाख १२ गते पोखरामा सम्पन्न भएको छ ।

कार्यक्रममा गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमालले आम नागरिकका लागि बीमा अपरिहार्य रहेको बताउँदै बीमा व्यवसायलाई व्यवस्थित, स्वच्छ र स्वतन्त्र ढङ्गले सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले स्थानीय समुदाय तथा ग्रामीण भेगसम्म बीमा सेवाको विस्तार गर्नु अहिलेको प्रमुख आवश्यकता भएको उल्लेख गर्दै गण्डकी प्रदेश सरकार बीमा प्राधिकरणसँग सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

नेपाल बीमा प्राधिकरणका केन्द्रीय निर्देशक सम्राज लामिछानेले प्रदेश र स्थानीय सरकारले नीति तथा नियम निर्माण गरी बीमा क्षेत्र सञ्चालन गर्न सक्ने कानुनी व्यवस्था रहेको जानकारी दिनुभयो ।

सोही अनुसार सातै प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गरिएको उहाँले बताउनुभयो । उहाँका अनुसार बीमाले भविष्यमा हुन सक्ने जोखिम न्यूनीकरण गर्न र आर्थिक क्षतिलाई पूर्ति गर्न महत्वपूर्ण भूमिका खेल्छ ।

कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष यामनाथ पौडेल, पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष उमराज बास्तोला, कार्यक्रम संयोजक श्रीराम गौतम, थोक व्यवसाय सङ्घ कास्कीका अध्यक्ष उषा तिमिल्सिना सुबेदी, सर्वेश्वर व्यवसायी समितिका अध्यक्ष छविलाल गौतम, सल्लाहकार विष्णुप्रसाद बास्तोला तथा सगरमाथा लुम्बिनी इन्स्योरेन्स प्रालि गण्डकीका प्रमुख दीपकराज तिवारीलगायतले बीमाको महत्वबारे आआफ्ना धारणा राख्नुभएको थियो ।

बीमा प्राधिकरण गण्डकी प्रदेशका कार्यालय प्रमुख शम्भुप्रसाद मिश्रको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सहायक अधिकृत कविता पाण्डेले गर्नुभएको थियो ।

Author

Related News