शिर झुक्छ आज फेरि, गुरुको पावन छायाँमा,
जीवनको उज्यालो भेटेँ, उहाँकै ज्ञानमय मायाँमा ।
पहिलो अक्षरदेखि सपना उड्न सिकाउने ती हात,
आज पनि धड्किरहन्छन् हृदयका प्रत्येक पाट ।
अँध्यारोलाई चिर्दै उज्यालोको दीप जलाउने,
असम्भवलाई सम्भव भन्दै साहस भरिदिने ।

गल्तीमा डाँटभित्र पनि स्नेहको सुवास हुन्थ्यो,
मौन शिक्षाका प्रत्येक क्षण अमृतसरि झर्थ्यो ।
पुस्तकका पानाभन्दा विशाल थियो उहाँको ज्ञान,
आचरणमै लेखिदिनुभयो जीवनको अमूल्य विधान ।
परिश्रमको बाटो देखाई, धैर्यको दीप बाल्नुभयो,
हार नमान्ने हिम्मत भरी, आत्मविश्वास जगाउनुभयो ।
आज जहाँ छु, जति छु, त्यो सबै तपाईंकै देन,
मेरो प्रत्येक सफलतामा लुकेको छ तपाईंकै श्रम ।
नामभन्दा ठूलो छ गुरुको ऋण,
समयले पनि कहिल्यै नतिरिने अमर बन्धन ।
शतशः नमन ती सम्पूर्ण गुरुजनलाई,
जसले जीवनलाई अर्थ, उज्यालो र गन्तव्य दिनुभयो ।
शिक्षक दिवसको पावन अवसरमा
श्रद्धा, सम्मान र कृतज्ञताका अनन्त पुष्प अर्पण गर्दछु ।