मानव आवाज

२०८३ श्रावण ११ गते
00: 00: 00
२०८३ श्रावण ११ गते

देवानगञ्ज घटनामा मानवअधिकार आयोगको छानबिन सुरु, सामाजिक सद्भाव कायम राख्न अपील

ललितपुर । राष्ट्रिय मानवअधिकार आयोगले सुनसरीको देवानगञ्जमा दुई समुदायबिच भएको झडप तथा प्रहरीको गोली लागेर ओमप्रकाश मेहताको मृत्यु भएको घटनाको मानव अधिकारको दृष्टिले सूक्ष्म अनुसन्धान सुरु गरेको छ ।

आयोगको कोशी प्रदेश कार्यालय विराटनगरले प्रमुख जिल्ला अधिकारी, प्रहरी, अस्पताल प्रशासन तथा स्थानीयसँग घटनाबारे जानकारी लिँदै प्रारम्भिक अनुगमन गरिरहेको जनाएको छ ।

आयोगका अनुसार झण्डा राख्ने र डिजे बजाउने विषयमा सुरु भएको विवाद झडपमा परिणत भएपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन गोली चलाउँदा एक जनाको मृत्यु भएको र नौ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ ।

घटनापछि विभिन्न स्थानमा प्रदर्शन, टायर बाल्ने तथा तनावपूर्ण अवस्था सिर्जना भएको भन्दै कप्तानगञ्ज क्षेत्रमा सुरक्षा व्यवस्था कडा पार्न सेना परिचालन गरिएको आयोगले जनाएको छ ।

आयोगले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी कारबाही गर्न, मृतकका परिवारलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन र घाइतेको निःशुल्क तथा प्रभावकारी उपचार सुनिश्चित गर्न सरकारलाई आग्रह गरेको छ ।

राजनीतिक दल, नागरिक समाज, मानव अधिकारकर्मी र सर्वसाधारणलाई वार्ता र संवादमार्फत विवाद समाधान गर्दै सामाजिक सद्भाव कायम राख्न सहयोग गर्न अपील गरेको छ ।

Author

Share the News

Recent News

Related News