काठमाडौँ । नेपाल पत्रकार महासंघले ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गरौँ, नागरिक अधिकार सुनिश्चित गरौँ’ भन्ने नारासहित २०८३ साउन ९ गते माइतीघर मण्डलामा प्रदर्शन गरेको छ ।
महासङ्घको उपत्यका प्रदेश समिति तथा काठमाडौँ, ललितपुर र भक्तपुर शाखाको संयुक्त आयोजनामा उक्त विरोध प्रदर्शन गरिएको हो ।
सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकारमाथि प्रतिकूल नीति लिएको आरोप लगाउँदै पत्रकारहरु आन्दोलित हुँदै आएका छन् ।
सरकारबाट प्रेसमाथि दबाब बढेको र अभिव्यक्ति स्वतन्त्रतामा सङ्कुचन आएको आन्दोलनरत पत्रकारको भनाइ छ ।
सञ्चारगृह लक्षित गतिविधि बढ्दै गएको कारण नेपाली मिडिया क्षेत्र डरलाग्दो स्वनियन्त्रणको अवस्थाबाट गुज्रिरहेको महासङ्घले बताउँदै आएको छ ।