पोखरा । पोखरामा मुख्य कार्यालय रहेको होटल पौवा प्रा.लि. ले आफ्नो स्थापनाको १०औं वार्षिकोत्सवका अवसरमा देशभरका सबै शाखामा एकसाथ ‘पौवा स्वाद उत्सव-२०८२’ आयोजना गर्ने भएको छ ।
कम्पनीले आज आयोजित पत्रकार सम्मेलनमार्फत चैत २६ देखि २८ गतेसम्म देशभर रहेका २० शाखामा एकैपटक उत्सव सञ्चालन गरिने जानकारी दिएको हो ।
“वितायौँ बालापन” नारासहित आयोजना गरिने उत्सवमार्फत नेपाली रैथाने परिकार, आतिथ्य र सांस्कृतिक अनुभवलाई प्रवरधन गर्ने लक्ष्य कम्पनीको छ ।
कम्पनीका अध्यक्ष तुलसीराम ज्ञवालीका अनुसार पौवाले १० वर्षअघि चैत २५ गते नेपाली हस्पिटालिटीको अवधारणासहित सेवा सुरु गरेको थियो र छोटो अवधिमै देशका विभिन्न पर्यटकीय गन्तव्यमा २० शाखा विस्तार गर्न सफल भएको छ ।
उहाँले आगामी दिनमा पनि प्रमुख पर्यटकीय क्षेत्रमा शाखा विस्तारलाई निरन्तरता दिइने बताउनु भएको छ ।
महाप्रबन्धक केशव भण्डारीले उत्सव अवधिभर सबै शाखामा विशेष अतिथि सत्कारसहित मौलिक नेपाली स्वाद प्रस्तुत गरिने जानकारी दिनु भयो । उहाँका अनुसार कार्यक्रमका लागि देशभर करिब ४० हजार निमन्त्रणापत्र वितरण गरिएको छ ।

रुपन्देहीको सालझण्डीस्थित सानो संरचनाबाट सुरु भएको कम्पनी अहिले भैरहवाहुँदै देशका विभिन्न सहरमा फैलिएको छ ।
वार्षिकोत्सवकै अवसरमा कम्पनीले चैत २८ गते भैरहवा शाखामा ‘वितायौँ बालापन’ अवधारणामा लगानी सम्मेलन आयोजना गर्ने तयारी गरेको छ, जसमा भावी रणनीति र विस्तार योजनाबारे छलफल गरिनेछ ।
यसैबिच, नयाँ वर्ष २०८३ को स्वागतका लागि चैत ३० गते साँझ सबै शाखामा ‘शुभकामना साँझ-२०८३’ शीर्षकमा सांगीतिक कार्यक्रम आयोजना गरिने भएको छ, जहाँ स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहनेछ ।
लेखापाल सुवास ज्ञवाली का अनुसार कम्पनीले विभिन्न जातजातिका चाडपर्वमा विशेष कार्यक्रम गर्दै नेपाली कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्धनमा समेत योगदान पुर्याउँदै आएको छ ।