पोखरा । रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र विभिन्न जिल्लामा भएका प्राकृतिक विपद्बाट ठूलो जनधनको क्षति भएकोप्रति दुःख व्यक्त गर्दै होटल बाराही ग्रुपले विपद् प्रभावित नागरिकको राहत तथा उद्धारका लागि २० लाख ५५ हजार ८ सय १५ रुपियाँ सहयोग गरेको छ ।
गण्डकी प्रदेशको राजधानी तथा पर्यटकीय नगरी पोखरा महानगरपालिका-६, लेकसाइडस्थित होटल बाराही प्रालि तथा बाराही ग्रुपले उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको हो ।
२०८३ भदौ २४ गते बैङ्कमार्फत प्रधानमन्त्री राहत कोषमा रकम दाखिला गरेको भौचर ग्रुपका सञ्चालक वैभव पौडेलले कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङलाई हस्तान्तरण गर्नुभयो ।
भौचर बुझ्दै प्रमुख जिल्ला अधिकारी गुरुङले विपद्मा परेका नागरिकको राहत तथा उद्धारका लागि राहत कोषमार्फत सामाजिक संस्था, होटल व्यवसायी तथा विभिन्न व्यक्तिले गरेको सहयोगप्रति धन्यवाद तथा आभार व्यक्त गर्नुभयो ।
राज्य अप्ठ्यारोमा परेको समयमा मनकारी व्यक्ति तथा संस्थाले मन फुकाएर गरेको सहयोग प्रशंसनीय रहेको उहाँले बताउनुभयो ।
ग्रुपका सञ्चालक पौडेलले सामाजिक उत्तरदायित्वअन्तर्गत विपद्बाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले रकम प्रदान गरिएको बताउनुभयो ।
विपद् प्रभावितलाई तत्काल राहत उपलब्ध गराउनुका साथै दीर्घकालीन पुनःस्थापनाका लागि समेत सहयोग आवश्यक रहेकाले राहत कोषमा रकम जम्मा गरिएको उहाँले जानकारी दिनुभयो ।
यसैबिच, रसुवामा आएको विनाशकारी बाढीबाट उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै पर्यटन तथा संस्कृति क्षेत्रसँग सम्बन्धित ‘तीज सांस्कृतिक महोत्सव तथा उद्यमी मेला-२०८३’ स्थगित गरिएको छ। तीजको दर खाने कार्यक्रमसमेत रद्द गरिएको छ ।

कार्यक्रमका लागि छुट्याइएको दर खाने रकममध्ये १ लाख १ हजार १ सय ११ रुपियाँ रसुवा बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्बाट प्रभावित नागरिकको सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा जम्मा गरिएको टेवानकी अध्यक्ष शोभा न्यौपाने पाण्डेले जानकारी दिनुभयो ।
त्यसैगरी पोखरा हार्डवेयर एसोसिएसनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा १ लाख ११ हजार १ सय ११ रुपियाँ सहयोग गरेको अध्यक्ष अर्जुन थापाले जानकारी दिनुभयो ।
होटल सङ्घ पोखरा नेपालले पनि प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २ लाख रुपियाँ जम्मा गरेको सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिनुभयो । सोही अवसरमा माउण्टेन ट्रस्टका तर्फबाट गरिएको १० लाख रुपियाँ सहयोगसमेत प्रदान गरिएको थियो ।