मानव आवाज

२०८३ भदौ २१ गते
00: 00: 00
२०८३ भदौ २१ गते

गण्डकी बहुप्राविधिक निःशुल्क तालिमका लागि आव्हान

पोखरा । पोखरा महानगरपालिका र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटीइभिटी) को साझेदारीमा सञ्चालित गण्डकी बहुप्राविधिक शिक्षालय, पोखराले निःशुल्क तालिम सञ्चालनका लागि आवेदन आव्हान गरेको छ ।

२०७६ सालमा स्थापना भएको यस शिक्षालयले २०८२ माघ ७ गते सूचना प्रकाशित गर्दै योग्य नेपाली नागरिकहरूलाई आवेदन दिन आग्रह गरेको हो ।

सूचना अनुसार, योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र रितपूर्वक आवेदन पेश गर्न सक्नेछन् । यसपटक शिक्षालयले चारवटा विषयमा निःशुल्क तालिम सञ्चालन गर्ने जनाएको छ ।

तालिम विवरण अनुसार, विद्यालय शिक्षक परामर्श तालिममा ४० जनालाई ३९० घण्टाको तालिम प्रदान गरिनेछ । यसका लागि २१ वर्ष उमेर पूरा भई १२ कक्षा वा सो सरह उत्तीर्ण हुनुपर्नेछ ।


बाल विकास सहजकर्ता (ECDF) तालिममा २० जनालाई ३९० घण्टाको तालिम दिइनेछ, जसका लागि न्यूनतम १६ वर्ष उमेर पूरा भई १० कक्षा वा सो सरह उत्तीर्ण हुनुपर्नेछ ।


मोटरसाइकल मर्मत तालिममा २० जनालाई ३९० घण्टाको तालिम दिइनेछ, जसका लागि कम्तीमा १६ वर्ष उमेर पूरा भएको र सामान्य लेखपढ गर्न सक्ने हुनुपर्नेछ ।

त्यसैगरी, केयर गिभर तालिममा २० जनालाई ३९० घण्टाको तालिम प्रदान गरिनेछ, जसका लागि १६ वर्ष उमेर पूरा भई १० कक्षा वा सो सरह उत्तीर्ण हुनुपर्ने योग्यता तोकिएको छ । सबै तालिम गण्डकी बहुप्राविधिक शिक्षालयले तोकेको स्थानमा सञ्चालन हुनेछन् ।

आवेदनका लागि प्रशिक्षार्थी आवेदन फारम भरी नेपाली नागरिकताको प्रतिलिपि एक प्रति, पासपोर्ट साइज फोटो दुई प्रति तथा शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि संलग्न गर्नुपर्नेछ ।

विद्यालय शिक्षक परामर्श तालिमका लागि सम्बन्धित विद्यालयको सिफारिस पत्र अनिवार्य गरिएको छ। आवेदन फारम २०८२ माघ १४ गतेभित्र कार्यालय समयभित्र गण्डकी बहुप्राविधिक शिक्षालय, भण्डारढिकमा बुझाउन सकिनेछ।

दलित, अपाङ्ग, शहीद परिवार, वैदेशिक रोजगारबाट फर्किएका, विपन्न, द्वन्द्वपीडित, एकल महिला तथा कोभिड–१९ बाट प्रभावित व्यक्तिहरूलाई विशेष प्राथमिकता दिइने शिक्षालयले जनाएको छ ।

प्रशिक्षार्थी छनोट प्रारम्भिक योग्यताक्रम प्रकाशन तथा अन्तर्वार्तामार्फत गरिनेछ । अन्तर्वार्ताको मिति २०८२ माघ १५ गते तोकिएको छ ।

यस सम्बन्धमा थप जानकारी लिन चाहनेहरूले फोन नम्बर ०६१–५६३०९७, ९८४६३९२८७०, ९८५६०११९८१ वा ९८५६०११९८२ मा सम्पर्क गर्न सक्नेछन् ।

गण्डकी बहुप्राविधिक शिक्षालय, पोखराका निर्देशक डा. टेकनारायण पौडेलले निःशुल्क तालिममार्फत युवाहरूलाई सीपमूलक तथा रोजगारीमुखी बनाउन उद्देश्य रहेको जानकारी दिनु भयो ।

Author

समाचार साझा गर्नुहोस्

सम्बन्धित समाचार