मानव आवाज

२०८३ बैशाख १० गते
00: 00: 00
२०८३ बैशाख १० गते

पोखरामा नयाँ वर्षदेखि निःशुल्क इलेक्ट्रिक सटल बस सेवा सुरु

पोखरा गण्डकी प्रदेशको राजधानी तथा पर्यटकीय शहर पोखरामा नेपाली नयाँ वर्ष २०८३ को अवसर पारेर निःशुल्क सटल बस सेवा सञ्चालनमा आउने भएको छ ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यका अनुसार २०८३ वैशाख १ गतेबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि अमरसिंह चोकसम्म निःशुल्क इलेक्ट्रिक सटल बस सेवा सुरु गरिनेछ ।

प्रारम्भमा पाइलट परियोजनाका रूपमा असार मसान्तसम्म सेवा निःशुल्क प्रदान गरिनेछ भने त्यसपछि न्यूनतम शुल्कसहित नियमित रूपमा सञ्चालन गर्ने योजना रहेको छ ।

विमानस्थलदेखि लेकसाइड तथा शहरका विभिन्न स्थानसम्म पुग्न महँगो ट्याक्सी भाडाको गुनासो बढ्दै गएपछि त्यसको विकल्पका रूपमा यो सेवा सुरु गर्न लागिएको मेयर आचार्यले बताउनुभयो ।

यात्रुलाई मुख्य चोकसम्म ल्याएर त्यहाँबाट विभिन्न विकल्पमार्फत गन्तव्यमा पुग्न सहज बनाउने उद्देश्यले पहिलो चरणमा दुई ओटा बस सञ्चालन गरिनेछ ।

उक्त सटल बस अत्याधुनिक सुविधा सम्पन्न ३२ सिटे इलेक्ट्रिक बस हुनेछन् । बसमा आरामदायी सिट व्यवस्थाका साथै यात्रुका लागि लगेज राख्ने सुविधा समेत उपलब्ध हुनेछ । सेवा बिहान ६ बजेदेखि राति १० बजेसम्म सञ्चालन गरिनेछ ।

महानगरपालिकाका अनुसार प्रत्येक बस खरिदमा करिब १ करोड ६० लाख रुपियाँ लगानी गरिएको छ ।

वातावरणमैत्री यातायात प्रणालीको विकासका लागि निजी क्षेत्रका व्यवसायीलाई पनि इलेक्ट्रिक सवारी सञ्चालनमा जोडिन आग्रह गरिएको छ ।

महानगरका प्रवक्ता मोतीलाल तिमिल्सिनाले महानगरको पहलमा विभिन्न वित्तीय संस्था तथा यातायात व्यवसायीको सहकार्यमा योजना अघि बढाइएको जानकारी दिनुभयो ।

त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले नयाँ वर्षको दिन विमानस्थल परिसरमा औपचारिक कार्यक्रममार्फत सेवाको उद्घाटन गरिने तयारी गरिएको बताउनुभयो ।

यो सेवा यात्रु सहजता मात्र नभई वातावरणमैत्री यातायात प्रवर्धनको अभियानको सुरुवातका रूपमा समेत लिइएको छ ।

Author

Related News