मानव आवाज

२०८३ श्रावण १५ गते
00: 00: 00
२०८३ श्रावण १५ गते

धार्मिक सद्भाव कायम राख्न कास्कीमा चारबुँदे निर्णय

पोखरा  ।  जिल्ला प्रशासन कार्यालय कास्कीमा शुक्रबार बसेको सर्वपक्षीय समन्वय बैठकले जिल्लामा धार्मिक तथा साम्प्रदायिक सद्भाव कायम राख्न चारबुँदे निर्णय गरेको छ ।

कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङको अध्यक्षतामा सम्पन्न बैठकले पछिल्ला दिनमा तराईमधेश क्षेत्रमा देखिएको धार्मिक तथा साम्प्रदायिक तनावको प्रभाव कास्कीमा समेत पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै धार्मिक, जातीय तथा सामाजिक सद्भावलाई थप सुदृढ बनाउन सबै पक्षले आआफ्नो क्षेत्रबाट सक्रिय भूमिका निर्वाह गर्ने निर्णय गरेको हो ।

निर्णयअनुसार नेपाली समाजमा ऐतिहासिक रूपमा कायम रहेको सामाजिक एकता, धार्मिक सहिष्णुता र सद्भावलाई कमजोर बनाउने कुनै पनि गतिविधिमा संलग्न नहुने तथा त्यस्ता गतिविधिमा संलग्न जोकोहीलाई कानुनी दायरामा ल्याउन स्थानीय प्रशासनलाई आवश्यक सहयोग गर्ने सहमति गरिएको छ ।

बैठकले सार्वजनिक स्थानमा सभा, जुलुस, प्रदर्शन वा अन्य कुनै कार्यक्रम आयोजना गर्नुअघि स्थानीय प्रशासनको पूर्वस्वीकृति अनिवार्य रूपमा लिनुपर्ने व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्ने निर्णय पनि गरेको छ ।

त्यसैगरी, विभिन्न धार्मिक अगुवा तथा धर्मगुरूहरूले आआफ्ना धर्म र संस्कृतिसँग सम्बन्धित कार्यक्रम तथा समारोहमा धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र आपसी एकताको सन्देश प्रवाह हुने गरी प्रवचन तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ ।

बैठकले सबै राजनीतिक दल, धार्मिक सङ्घसंस्था, नागरिक समाज तथा सर्वसाधारणलाई सामाजिक सद्भाव, शान्ति र सुरक्षा कायम राख्न प्रशासनसँग सहकार्य गर्न आग्रह गरेको छ ।

बैठकमा सहभागीहरूले जिल्लामा शान्ति सुरक्षा, सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न र मानवताको पक्षमा सबै एकजुट हुनुपर्नेमा जोड दिएका थिए ।

सर्वपक्षीय समन्वय बैठकमा राजनीतिक दलका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि, जिल्ला सुरक्षा समितिका पदाधिकारी, सरोकारवाला निकाय, नागरिक समाज, सामाजिक अभियन्ता, पोखरा उद्योग वाणिज्य सङ्घ, पर्यटन व्यवसायी तथा विभिन्न धार्मिक सङ्घसंस्थाका प्रमुख एवम् प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

Author

Share the News

Recent News

Related News