मानव आवाज

२०८३ जेष्ठ २ गते
00: 00: 00
२०८३ जेष्ठ २ गते

छोरेपाटन माविको उत्कृष्ट नतिजा, विद्यार्थी सम्मान तथा नयाँ शैक्षिक कार्यक्रम घोषणा

पोखरा छोरेपाटन माध्यमिक विद्यालयले यस वर्षको एसइई परीक्षामा कास्की जिल्लाका सरकारी विद्यालयमध्ये उत्कृष्ट नतिजा हासिल गर्दै उल्लेखनीय सफलता प्राप्त गरेको छ ।

विद्यालयले उक्त सफलताको अवसरमा २०८३ जेठ १ गते बधाई तथा सम्मान कार्यक्रम आयोजना गरेको हो ।

यस वर्ष विद्यालयका तीन जना विद्यार्थीले पूर्ण ४ जीपीए प्राप्त गरेका छन् । सम्मानित हुने विद्यार्थीहरूमा शिवानी सुवेदी, रचना ढकाल र करिना गौडेल रहनुभएको छ । उहाँहरूलाई जनही रु. ७ हजार नगदसहित सम्मान गरिएको विद्यालयले जनाएको छ ।

त्यसैगरी, १०औँ पोखरा स्पोर्ट्स अवार्डमा ‘वर्ष खेलाडी’ (एथलेटिक्स) घोषित छात्रा नारायणी भण्डारीलाई विद्यालयले रु. ५ हजार नगद पुरस्कार प्रदान गरेको छ ।

विद्यालयका अनुसार एसइई परीक्षामा कुल १ सय ८१ जना विद्यार्थी सहभागी भएकोमा १ सय ५४ जना अर्थात् ८५ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’ हुन सफल भएका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सागर अधिकारीले पोखराको पर्यटकीय महत्त्व तथा अभिभावकको मागलाई ध्यानमा राख्दै यसै वर्षदेखि विद्यालयमा होटल व्यवस्थापन विषयको पठनपाठन सुरु गरिने जानकारी दिनुभयो ।

उहाँले विद्यार्थी, अभिभावक तथा शिक्षकहरूको इमानदार प्रयासकै कारण यस्तो नतिजा सम्भव भएको उल्लेख गर्दै आगामी वर्ष अझ उत्कृष्ट नतिजा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

विद्यालयका प्रधानाध्यापक डिल्लीराम शर्मा भुसालले उत्तीर्ण विद्यार्थीहरूलाई बधाई दिँदै उज्ज्वल शैक्षिक भविष्यको शुभकामना व्यक्त गर्नुभयो ।

कार्यक्रममा सहायक प्रधानाध्यापकद्वय खेमराज बराल र मेघनाथ पौडेल, शिक्षकहरू मनोज भट्टराई, महादेव पौडेल, दिव्येश्वरी रेग्मी तथा अभिभावक नवराज बराल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

यसअघि २०८१ सालको एसइई परीक्षामा पनि विद्यालयकी छात्रा श्रेया लामिछानेले ४ जीपीए हासिल गर्दै विद्यालयको गौरव बढाउनुभएको थियो ।

Author

Related News