गुल्मीको रेसुङ्गा माध्यमिक विद्यालयबाट सुरु भएको भोजराज पाण्डेको जीवनयात्रा आज राष्ट्रसेवा, अन्तर्राष्ट्रिय शान्ति स्थापना, कानुन, राजनीति र समाजसेवासम्म आइपुगेको छ । एउटा सामान्य विद्यार्थीका रूपमा सुरु भएको यात्रा कसरी अनुशासन, अध्ययन, जिम्मेवारी र सेवाभावसँग जोडिँदै फराकिलो बन्दै गयो भन्ने उदाहरण हो उहाँको जीवनकथा ।
वि.सं. २०४५ सालमा रेसुङ्गा माध्यमिक विद्यालय, गुल्मीबाट एसएलसी उत्तीर्ण गरेपछि उहाँले रेसुङ्गा बहुमुखी क्याम्पसबाट प्रविणत प्रमाणपत्र तह (आइए) पूरा गर्नुभयो । त्यसपछि स्नातक तह अध्ययनरत रहेकै समयमा वि.सं. २०५१ सालमा नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (एएसआई) पदका लागि आवेदन खुल्यो । पहिलो पटक आवेदन दिँदै उहाँ सफल हुनुभयो र नेपाल प्रहरी सेवामा प्रवेश गर्ने अवसर प्राप्त गर्नुभयो । त्यहीँबाट सुरु भयो उहाँको तीन दशक लामो राष्ट्रसेवाको यात्रा । “पहिलो प्रयासमै नाम निस्कियो । त्यसपछि जीवनको एउटा ठूलो अध्याय नेपाल प्रहरीसँगै जोडियो ।”-आफ्नो व्यावसायिक यात्रालाई सम्झँदै पाण्डे बताउनुहुन्छ ।
नेपाल प्रहरीमा प्रवेश गरेपछि उहाँले लगातार ३० वर्ष राष्ट्र र नागरिकको सेवामा बिताउनुभयो । सेवाका क्रममा देशका विभिन्न जिल्ला तथा प्रहरी कार्यालयमा नेतृत्वदायी जिम्मेवारी निर्वाह गर्नुभयो । कार्य प्रमुखका रूपमा सङ्गठनको जिम्मेवारी सम्हाल्नुभयो भने नेपाल प्रहरीका विभिन्न तालिम केन्द्रमा प्रशिक्षकका रूपमा पनि काम गर्नुभयो । नयाँ प्रहरी जनशक्तिको क्षमता विकास र व्यावसायिक दक्षता अभिवृद्धिमा प्रशिक्षकका रूपमा उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो ।
प्रहरी सेवाका क्रममा उहाँले २७ वर्ष नेपालभित्र विभिन्न जिम्मेवारीमा बिताउनुभयो भने तीन वर्ष संयुक्त राष्ट्रसङ्घको शान्ति स्थापना मिसनअन्तर्गत विदेशमा सेवा गर्ने अवसर प्राप्त गर्नुभयो । पहिलोपटक कोसोभो र दोस्रोपटक दक्षिण सुडानमा शान्ति सैनिकका रूपमा खटिनुभयो । दुवै मिसनमा इन्चार्जको जिम्मेवारी सम्हाल्दै विभिन्न मुलुकबाट आएका शान्ति सैनिकबिच नेतृत्व, समन्वय र कमान्डको भूमिका निर्वाह गर्नुभयो । फरक देश, भाषा, संस्कृति र कार्यशैली भएका जनशक्तिलाई एउटै उद्देश्यमा परिचालन गर्नु आफैँमा चुनौतीपूर्ण जिम्मेवारी थियो । तर, नेपाल प्रहरीमा लामो समयसम्म आर्जन गरेको अनुशासन, अनुभव र नेतृत्व क्षमताले उहाँलाई त्यो जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्न सहयोग पुर्यायो ।
३० वर्षको प्रहरी सेवाले पाण्डेलाई केवल एउटा जागिरे परिचय दिएन, समाज, राज्य, कानुन र नागरिकका समस्यालाई नजिकबाट बुझ्ने अवसर पनि दियो । सेवामा रहँदा उहाँले अध्ययनलाई पनि निरन्तरता दिनुभयो । स्नातक तह पूरा गरेपछि राजनीतिशास्त्रमा स्नातकोत्तर तथा कानुनमा स्नातक (एलएलबी) अध्ययन पूरा गर्नुभयो । सेवाको व्यस्तताबिच अध्ययनलाई निरन्तरता दिनु सहज थिएन, तर उहाँका लागि ज्ञान र शिक्षा जीवनभरको आवश्यकता थियो ।
प्रहरी सेवाबाट अवकाश लिएपछि पनि उहाँको सक्रिय जीवनले विश्राम लिएन । ३० वर्षसम्म कानुन कार्यान्वयन गर्ने जिम्मेवारीमा रहेपछि उहाँले कानुनकै क्षेत्रमा अर्को भूमिकाबाट योगदान गर्ने निर्णय गर्नुभयो । कानुन व्यवसायको प्रमाणपत्रका लागि परीक्षा दिएर सफलतापूर्वक उत्तीर्ण भएपछि उहाँ अहिले अधिवक्ताका रूपमा सक्रिय हुनुहुन्छ । प्रहरी सेवामा रहँदा कानुन कार्यान्वयनको पक्षबाट समाजलाई हेर्नुभएका पाण्डे अहिले कानुन व्यवसायीका रूपमा न्याय र नागरिक अधिकारका विषयमा काम गरिरहनुभएको छ । उहाँका लागि पेशा परिवर्तन भए पनि सेवाको उद्देश्य भने परिवर्तन भएको छैन ।
समाज परिवर्तनमा राजनीतिले महत्वपूर्ण भूमिका खेल्ने विश्वासका साथ उहाँ राजनीतिमा पनि सक्रिय हुनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टी, गुल्मीको जिल्ला सभापतिका रूपमा करिब दुई वर्ष जिम्मेवारी निर्वाह गर्नुभयो । सो अवधिमा गुल्मीका दुई ओटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट पार्टीका उम्मेदवार सागर ढकाल र गोविन्द पन्तलाई विजयी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको उहाँ बताउनुहुन्छ । प्रहरी सेवाबाट प्राप्त सङ्गठनात्मक अनुभव, अनुशासन र नेतृत्व क्षमता राजनीतिक यात्रामा पनि उपयोगी बनेको उहाँको अनुभव छ ।
राजनीति र कानुन व्यवसायसँगै पाण्डे समाजसेवामा पनि निरन्तर सक्रिय हुनुहुन्छ । विशेषगरी विद्यालय तथा कलेजका विद्यार्थीलाई लक्षित गरी साइबर अपराध, साइबर सुरक्षा, कानुनी सचेतना तथा सामाजिक उत्तरदायित्वका विषयमा प्रशिक्षण र सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आउनुभएको छ । प्रविधिको तीव्र विकाससँगै साइबर अपराधका घटना र जोखिम बढिरहेका बेला नयाँ पुस्तालाई समयमै सचेत र जिम्मेवार बनाउनुपर्ने उहाँको बुझाइ छ । “आजका विद्यार्थी भोलिका समाजका जिम्मेवार नागरिक हुन् । उनीहरूलाई कानुन, अधिकार, कर्तव्य र प्रविधिको सुरक्षित प्रयोगबारे समयमै जानकारी दिन सकियो भने समाजमा धेरै समस्या न्यूनीकरण गर्न सकिन्छ ।”-उहाँ भन्नुहुन्छ ।
आफ्नो जन्मभूमि गुल्मी तथा रेसुङ्गा नगरपालिकाका विभिन्न विद्यालयमा यस्ता कार्यक्रम सञ्चालन गरिसक्नुभएका पाण्डे आगामी दिनमा पनि यसलाई निरन्तरता दिने योजनामा हुनुहुन्छ । बुवा दिनानाथ पाण्डे र आमा लक्षिमा पाण्डेका छोरा भोजराज पाण्डेको जीवनयात्रा गुल्मीको त्यही माटोबाट सुरु भयो, जहाँबाट उहाँले शिक्षा र जीवनका प्रारम्भिक संस्कार प्राप्त गर्नुभयो । त्यसपछि देशका विभिन्न भूगोलमा प्रहरी अधिकृतका रूपमा काम गर्नुभयो, अन्तर्राष्ट्रिय भूमिमा शान्ति सैनिकका रूपमा नेपालको प्रतिनिधित्व गर्नुभयो, नयाँ प्रहरी जनशक्तिलाई प्रशिक्षण दिनुभयो, कानुन पढ्नुभयो, अधिवक्ता बन्नुभयो, राजनीतिमा सक्रिय हुनुभयो र अहिले विद्यालय तथा कलेजका विद्यार्थीमाझ पुगेर कानूनी तथा साइबर सचेतना फैलाउने काम गरिरहनुभएको छ । उहाँको जीवनलाई केवल पूर्वप्रहरी अधिकृत, अधिवक्ता वा राजनीतिकर्मीको परिचयमा सीमित गर्न सकिँदैन । यी सबै परिचय उहाँको यात्राका फरक-फरक अध्याय हुन् । ती सबैलाई जोड्ने साझा सूत्र भने एउटै छ-सेवा ।
भोजराज पाण्डेको जीवनयात्रा त्यसैले एउटा पेशाबाट अर्को पेशामा भएको परिवर्तनको कथा मात्र होइन, अनुभव, ज्ञान र सीपलाई समाजको हितमा निरन्तर प्रयोग गर्दै अघि बढेको सेवाको कथा हो । प्रहरीको वर्दी फुकाले पनि उहाँले सेवाको भावना फुकाल्नुभएको छैन । भूमिका फेरिएको छ, जिम्मेवारीको स्वरूप फेरिएको छ, तर नागरिकप्रतिको उत्तरदायित्व र समाजका लागि केही गरिरहने चाहना भने उस्तै छ । इमानदारी, अनुशासन, उत्तरदायित्व र सेवाभावलाई आगामी यात्राको मार्गदर्शक बनाउने उहाँको सङ्कल्प छ । रेसुङ्गाको विद्यालयबाट सुरु भएको यो यात्रा कहाँ पुगेर टुङ्गिन्छ, त्यसको कुनै निश्चित बिन्दु छैन । तर, उहाँको बाटो भने स्पष्ट छ-न्याय, नागरिक चेतना र समाजसेवाको बाटो ।