मानव आवाज

२०८३ बैशाख १० गते
00: 00: 00
२०८३ बैशाख १० गते

कौसी र करेसा खेतीमा कृषक सशक्तिकरण : पोखरा–८ मा ९२ जना लाभान्वित

पोखरा “घरको फोहर व्यवस्थापन गरौं, कौसीमा हरियाली र स्वस्थ तरकारी फलाऔं !” भन्ने सन्देशसहित पोखरा महानगरपालिका-८ मा कौसी तथा करेसा खेती गर्ने कृषकहरूका लागि तालिम तथा प्रोत्साहन कार्यक्रम सम्पन्न भएको छ ।

वडास्तरीय कृषि सञ्जाल पोखरा-८ को आयोजनामा तथा वडा कार्यालयको सहयोगमा २०८२ चैत ३० गते आयोजित उक्त तालिममा ९२ जना कृषक सहभागी भएका थिए ।

तालिममा विशेषगरी वर्षे बालीमा लाग्ने रोग तथा किराको पहिचान र समाधानबारे जानकारी प्रदान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष रूद्रनाथ बरालले शहरी क्षेत्रमा कौसी खेती प्रवर्धनमा महिला तथा गृहणीहरूको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै सानो समय र लगानीबाट पनि स्वच्छ, स्वस्थ तथा अर्गानिक तरकारी उत्पादन गर्न सकिने बताउनुभयो ।

उहाँले वडाले हालसम्म दुई हजारभन्दा बढी कृषकलाई तालिम प्रदान गरिसकेको जानकारी दिँदै यस्ता तालिमले कृषकलाई अझ आत्मनिर्भर बनाउने विश्वास व्यक्त गर्नुभयो ।

वडा सदस्य पवित्रा केसीले घरको कुहिने फोहरलाई व्यवस्थापन गरी मलमा रूपान्तरण गरेर कौसी तथा करेसा खेतीमा प्रयोग गर्न आग्रह गर्नुभयो ।

कृषि सञ्जालका प्रतिनिधिहरूले पनि कार्यक्रमप्रति सकारात्मक धारणा व्यक्त गरेका थिए । पोखरा-९ की संयोजक विमला रानाभाटले यस्ता कार्यक्रमले कृषकलाई व्यावसायिक बनाउन प्रेरणा मिल्ने बताउनुभयो भने पोखरा-६ की पूर्व संयोजक तथा ‘कौसी क्वीन-२०८२’ भावना रानाभाटले वडाको सक्रियता प्रशंसनीय रहेको बताउनुभयो ।

निर्वतमान अध्यक्ष कान्ति अधिकारीले फोहर व्यवस्थापनको समस्यातर्फ ध्यानाकर्षण गराउँदै कौसी खेतीले फोहरलाई मोहरमा रूपान्तरण गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो ।

तालिममा पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा प्रमुख मनोहर कडरियाले बालीमा लाग्ने रोग तथा किराको पहिचान र समाधानबारे सहजिकरण गर्नुभएको थियो भने कार्यक्रम अधिकृत सुरज चिलुवालले अर्गानिक मल बनाउने विधिबारे प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रमपछि सहभागीहरूलाई ५ केजी प्राङ्गारिक मल तथा दुईदुई थान गोब्याग वितरण गरिएको थियो ।

सोही अवसरमा सामाजिक न्याय तथा महिला अधिकार क्षेत्रमा योगदान पुर्‍याएकोमा सृजना महिला सहकारी संस्था पोखरा-८ की अध्यक्ष शारदा गिरीलाई सम्मान गरिएको थियो ।

साबित्रा अधिकारी घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दुर्गा अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन सचिव कुलमाया पौडेलले गर्नुभएको थियो ।

तालिममा सहभागी रिना थापाले कार्यक्रमलाई उपलब्धिमूलक र फलदायी भएको बताउँदै खुसी व्यक्त गर्नुभयो ।

कार्यक्रममा टोल विकास संस्था, कौसी खेतीमा संलग्न महिलाहरू तथा विभिन्न सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

Author

Related News