पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ ड्यामसाइडस्थित नवनिर्मित वडा कार्यालय भवनको एक कार्यक्रमबिच उद्घाटन गरिएको छ ।
नेपाली नयाँ वर्ष २०८३ को अवसरमा आयोजित कार्यक्रममा नगर प्रमुख धनराज आचार्यले भवनको उद्घाटन गर्नुभएको हो ।
उद्घाटन समारोहमा बोल्दै नगर प्रमुख आचार्यले नयाँ भवनबाट सेवाग्राहीलाई छिटो, चुस्त र जबाफदेही सेवा प्रवाह गर्न जोड दिनुभयो ।
उहाँले नागरिकलाई गुनासो रहित सेवा प्रदान गर्नु आजको प्रमुख आवश्यकता भएको उल्लेख गर्दै त्यसतर्फ विशेष ध्यान दिन आग्रह गर्नुभयो ।
उक्त भवन ४ करोड ६५ लाख ८१ हजार ५ सय ७ रुपियाँ लागत अनुमानमा निर्माण गरिएको भए पनि ३ करोड ८६ लाख १६ हजार ८ सय ९२ रुपियाँमा नेचुरल फर्निसिङ एन्ड कन्स्ट्रक्सन प्रालिले निर्माण सम्पन्न गरेको हो ।
भवनको भुइँतल्ला, पहिलो र दोस्रो तल्ला प्रत्येक ३०९.४७ वर्ग मिटर तथा तेस्रो तल्ला ५४.१७ वर्ग मिटर क्षेत्रफलको रहेको छ । यसरी भवनको कुल क्षेत्रफल ९८२.५८ वर्ग मिटर रहेको जनाइएको छ ।
निर्माण कार्य २०८० असार २८ गते सुरु भई २०८२ असोज १० गते सम्पन्न भएको थियो । यसबिच, जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीहरूले भवनमा आगजनी तथा तोडफोड गरेका थिए, पछि मर्मतसम्भार गरी पुनः सञ्चालनमा ल्याइएको हो ।
हालसम्म महानगरपालिकाका ३१ वटा वडा कार्यालय आफ्नै भवनबाट सञ्चालनमा रहेका छन् भने थप २ वटा वडा कार्यालय भवन निर्माणाधीन रहेका छन् ।
कार्यक्रममा उपप्रमुख मञ्जुदेवी गुरुङ, दलका नेता दिवसमान प्रधानाङ्ग, प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल, वडा सदस्य विक्रम गुरुङ लगायतले सुविधायुक्त पूर्वाधारको प्रत्यक्ष प्रभाव सेवा प्रवाहमा देखिनुपर्नेमा जोड दिनुभएको छ ।
वडा अध्यक्ष राधिकाकुमारी शाही योगीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन वडा सचिव सुरेन्द्र सापकोटाले गर्नुभएको थियो ।