मानव आवाज

२०८३ बैशाख २९ गते
00: 00: 00
२०८३ बैशाख २९ गते

बालविवाह न्यूनीकरणका लागि साझा प्रतिबद्धतामा जोड

पोखरा बालविवाह अन्त्य तथा बालअधिकार संरक्षणका लागि सरोकारवालाबिच साझा प्रतिबद्धताको आवश्यकता औंल्याइएको छ ।

राष्ट्रिय बाल अधिकार परिषद्, जागृति बाल तथा युवा सरोकार नेपाल तथा जस्ट राईट्स फर चिल्ड्रेनको सहयोग तथा क्या नलानको सहकार्यमा २०८३ वैशाख २४ गते पोखरामा आयोजित “बाल अधिकार, विद्यमान कानुनी व्यवस्था तथा बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति तथा कार्यान्वयन कार्ययोजना-२०८२ को कार्यान्वयनमा सरोकारवालाको भूमिका” विषयक छलफल कार्यक्रममा सहभागीहरूले यस्तो धारणा राखेका हुन् ।

“बाल अधिकारको संरक्षण र सम्बर्द्धन गरौं, बालबालिकामा लगानी गरी बालमैत्री स्थानीय शासन प्रवर्द्धन गरौं, बालविवाह अन्त्य गरौं” भन्ने नारासहित आयोजित कार्यक्रममा गण्डकी प्रदेशकी सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरूङले बालबालिकाको संरक्षण राज्यको पहिलो दायित्व भएको बताउनुभयो ।

उहाँले बालबालिकाको सवाललाई साझा प्रतिबद्धताको विषय बनाउनुपर्नेमा जोड दिँदै गण्डकी प्रदेश सरकार न्यायको अनुभूति गराउन प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।

मन्त्री गुरूङले योजना र कार्यान्वयनको अवस्थाको समीक्षा गर्दै बालविवाह न्यूनीकरणमा सरोकारवाला निकाय, घरपरिवार तथा सामाजिक सङ्घसंस्थाको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

आगामी दिनमा यस विषयलाई साझा सवालका रूपमा अघि बढाई परिणाममुखी काम गरिने उहाँको भनाइ थियो ।

गण्डकी प्रदेशसभा सामाजिक विकास तथा कृषि समिति सभापति दमयन्ती रुचालले बालविवाह अन्त्यका लागि घरपरिवारदेखि समुदायसम्म सचेतना अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

सामाजिक सञ्जालको बढ्दो प्रभाव र विद्यमान सामाजिक परिपाटीले समस्या थप जटिल बनेको उहाँले बताउनुभयो ।

सामाजिक विकास तथा कृषि समिति सदस्य दिलमाया पौ वीले बालबालिकामाथि हुने हिंसा तथा दुर्व्यवहारलाई कानुनी दायरामा ल्याई कानुनी प्रक्रियाअनुसार टुङ्गोमा पुर्‍याउनुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा राष्ट्रिय बाल अधिकार परिषद् गण्डकी प्रदेश समन्वय अधिकृत बद्री प्रसाद वाग्लेले बाल अधिकार, विद्यमान कानुनी व्यवस्था तथा बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति तथा कार्यान्वयन कार्ययोजना-२०८२ सम्बन्धी विषयमा सहजीकरण गर्नुभएको थियो ।

जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलले बालविवाहविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्दै स्थानीय तहबाट प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले बालबालिकासम्बन्धी ऐन, २०७५ तथा नियमावली, २०७८ को पूर्ण कार्यान्वयन आवश्यक रहेको बताउनुभयो ।

इन्सेक गण्डकी प्रदेश संयोजक गणेश भण्डारीले विद्यालयस्तरमा बाल अधिकार चेतना समूहमार्फत बालविवाह र बालश्रमविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिनुभयो ।

उहाँले १८ वर्षमुनिको विवाहलाई बालअधिकारविरुद्धको कसुरका रूपमा कानुनी कारबाहीको व्यवस्था स्पष्ट हुनुपर्ने धारणा राख्नुभयो ।

राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेशकी प्रमुख नीतु गर्तौलाले विवाहको न्यूनतम उमेर २० वर्ष कायम हुनुपर्ने बताउँदै अभिभावकको संलग्नतामा हुने बालविवाहमा अभिभावकलाई समेत कारबाही गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

चिल्ड्रेन नेपालका कार्यकारी निर्देशक डिल्लीप्रसाद शर्माले समुदायस्तरमा सडक नाटक तथा जनचेतनामूलक अभियान प्रभावकारी हुने बताउनुभयो । नीति तथा कानुन धेरै बने पनि कार्यान्वयन कमजोर रहनु चुनौती भएको उहाँको भनाइ थियो ।

कोपिला नेपालका कार्यक्रम संयोजक तिर्थबहादुर थापाले बालविवाह लुकेर हुने प्रवृत्ति बढ्दै जाँदा समस्या थप जटिल बनेको उल्लेख गर्दै घरपरिवार र समुदाय सचेत हुनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

सिजप गण्डकीका केन्द्रीय सदस्य केशव पौडेलले पीडित किशोरीसम्बन्धी तथ्याङ्कमा एकरूपता ल्याउनुपर्ने र समयसापेक्ष कानुनी संशोधन आवश्यक रहेको बताउनुभयो ।

छलफलमा एसओएस बालग्राम गण्डकीका निर्देशक प्रदीपभक्त आचार्य, पोखरा महानगरपालिकाका अधिकृत बेलकुमारी गुरूङ, पत्रकार कमल पौडेल ‘अथक’, गैसस कास्कीका सदस्य शिव शर्मा चापागाईं तथा ओसिएमसी पोखराका मधु पहारीलगायतले सामाजिक सञ्जालको दुरुपयोगले बालबालिका थप जोखिममा परेको उल्लेख गर्दै घरपरिवारलाई जिम्मेवार बन्न आग्रह गर्नुभयो ।

सहभागीहरूले भूगोलअनुसार बालविवाहका कारण फरक हुने भएकाले सोहीअनुसार कानुनी तथा नीतिगत व्यवस्था आवश्यक रहेको धारणा राखेका थिए ।

नागरिकता र बालअधिकारलाई समायोजन गरी १८ वर्ष उमेर सीमा सम्बन्धी नीतिगत सुधार गर्नुपर्ने सुझावसमेत कार्यक्रममा प्रस्तुत गरिएको थियो ।

कार्यक्रमको अन्त्यमा सहभागी सरकारी तथा गैरसरकारी निकाय, नागरिक समाज, सञ्चारकर्मी, विद्यालय, समुदाय तथा बालअधिकार क्षेत्रमा क्रियाशील संघसंस्थाका प्रतिनिधिहरूले बालविवाहमुक्त गण्डकी प्रदेश निर्माण अभियानमा आआफ्नो स्थानबाट योगदान पुर्‍याउने प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका थिए ।

जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रिता थापाले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन बद्री प्रसाद वाग्लेले गर्नुभएको थियो । कार्यक्रममा ४५ जनाको सहभागिता रहेको आयोजकले जनाएको छ ।

Author

Related News