मानव आवाज

२०८३ बैशाख ११ गते
00: 00: 00
२०८३ बैशाख ११ गते

बालबालिकाको सुनिश्चित भविष्यका लागि साझा सवाल उठाउनुपर्नेमा जोड

पोखरा ‘बालबालिकामा लगानी : सुनौलो भविष्यको थालनी’ भन्ने नारासहित नेपाल सरकार, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गत राष्ट्रिय बाल अधिकार परिषद्, पुल्चोक ललितपुरको आयोजना तथा जिएसआईएफ नेपालको आर्थिक सहयोगमा “बालमैत्री सञ्चार निर्देशिका कार्यान्वयन सम्बन्धमा पत्रकारसँग प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रम” २०८२ चैत १२ गते सम्पन्न भएको छ ।

कार्यक्रममा राष्ट्रिय बालअधिकार परिषद्का गण्डकी प्रदेश समन्वय अधिकृत बद्रीप्रसाद वाग्लेले परिषद्को संक्षिप्त परिचय दिँदै बालबालिकासम्बन्धी ऐन, २०७५ तथा बालमैत्री सञ्चार निर्देशिका, २०७३ अनुसार सञ्चार माध्यमले बालबालिकासम्बन्धी समाचार वा सामग्री प्रकाशन/प्रसारण गर्दा बाल अधिकारको संरक्षण, गोपनीयता, सम्मानजनक प्रस्तुति तथा बालसंवेदनशीलता कायम गर्नुपर्ने व्यवस्था रहेको जानकारी दिनु भयो ।

उहाँले पत्रकारहरूमा बालमैत्री सञ्चार तथा बालसंवेदनशील पत्रकारितासम्बन्धी ज्ञान र संवेदनशीलता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।

समन्वय अधिकृत वाग्लेले बालबालिका सम्बन्धी विद्यमान कानुनी व्यवस्था तथा स्थानीय तहमा आवश्यक संयन्त्रबारे जानकारी गराउँदै बाल अधिकार संरक्षण तथा प्रवर्धनका लागि एकीकृत कार्यविधिको आवश्यकता र त्यसमा समेटिनुपर्ने न्यूनतम विषयहरूबारे समेत स्पष्ट पार्नु भयो ।

कार्यक्रममा बालअधिकारसम्बन्धी कानुनी व्यवस्था, बालमैत्री सञ्चार निर्देशिका तथा बालसंवेदनशील पत्रकारिताको व्यवहारिक पक्षबारे जानकारी आदानप्रदान गरिएको थियो ।

सञ्चारकर्मी सुरेश रानाभाटले बालमैत्री सञ्चार निर्देशिका, २०७३ को परिचय, अवधारणा तथा मुख्य प्रावधानबारे सहजीकरण गर्नुभएको थियो ।

त्यस्तै, प्रेस काउन्सिल नेपालका सदस्य केशवशरण लामिछानेले बालसंवेदनशील पत्रकारिता, पत्रकार आचारसंहिता, व्यवहारिक अभ्यास, बालमैत्री समाचार लेखन, नकारात्मक/हानिकारक रिपोर्टिङका उदाहरण तथा सुधारका उपायबारे सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा बालबालिका संरक्षणमा सञ्चार माध्यमको भूमिका, चुनौती र समाधानका विषयमा व्यापक छलफल गरिएको थियो ।

डिजिटल मिडिया, सामाजिक सञ्जाल र बढ्दो प्रतिस्पर्धाका कारण देखिएका चुनौतीहरू तथा समाधानका रणनीतिहरू, सरोकारवालाबिच सहकार्य र बालमैत्री सञ्चार अभ्याससम्बन्धी ‘पोखरा घोषणापत्र, २०८२’ का विषयमा पत्रकारहरूबीच अन्तरक्रिया, प्रश्नोत्तर तथा समूहगत प्रस्तुति समेत गरिएको थियो ।

कार्यक्रममा सहभागीहरूले पेशा केवल जीविकोपार्जनको माध्यम मात्र नभई आत्मसम्मान, सिर्जनशीलता र अरूको जीवनमा खुसी थप्ने महत्वपूर्ण माध्यम भएको उल्लेख गर्दै पेशालाई मर्यादित, सुरक्षित र सम्मानित बनाउन सबै पक्षबिच सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए ।

सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय, गण्डकी प्रदेशका उपसचिव हरीबहादुर खपाङ्गीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन गण्डकी प्रदेश समन्वय अधिकृत बद्रीप्रसाद वाग्लेले गर्नुभएको थियो ।

कार्यक्रममा विभिन्न सञ्चार गृहमा आबद्ध करिब ४० जना सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।

यस अवसरमा बालबालिकाको सर्वोत्तम हित तथा सञ्चार माध्यमको उत्तरदायित्वलाई ध्यानमा राख्दै ८ बुँदे प्रतिबद्धता समेत सार्वजनिक गरिएको छ ।

Author

Related News