मानव आवाज

२०८३ बैशाख १० गते
00: 00: 00
२०८३ बैशाख १० गते

फोटोको माध्यमबाट ग्रामीण पर्यटन प्रवर्धनमा जोड

पोखरा । नेपाल फोटो पत्रकार सङ्घ, कास्कीको आयोजना तथा मादी गाउँपालिका को सहयोगमा ‘मादी गाउँपालिकाको पर्यटन प्रवर्धनमा फोटो पत्रकारको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम २०८२ चैत १८ गते मादी–३ याङ्जाकोटमा सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष देवीजङ्ग गुरुङले मादीको प्रकृति र संस्कृतिलाई फोटोका माध्यमबाट विश्वमाझ चिनाउन सकिने बताउनु भयो ।

उहाँले पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा समाचार र फोटो दुवैको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै मादीको मुख्य सम्पत्ति नै प्रकृति र संस्कृति भएकाले तस्बिरमार्फत त्यसको प्रभावकारी प्रचार गर्न आवश्यक रहेको धारणा राख्नु भयो ।

अध्यक्ष गुरुङका अनुसार मादीसँग “बेच्ने दुई मुख्य वस्तु प्रकृति र संस्कृति” रहेको र तल्लो भेगमा कृषिलाई समेत प्रवर्धन गर्दै अघि बढिरहेको बताउनु भयो ।

उहाँले कोरी, क्हपुचे, क्रपु, सिक्लेस, ताङतिङ जस्ता क्षेत्रहरूलाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गरिँदै आएको जानकारी दिनु भयो । साथै याङ्जाकोट, भाचोक, वार्चोकलगायत क्षेत्रमा होमस्टे विस्तार भइरहेको उल्लेख गर्नु भयो ।

पालिकाले पर्यटनसँगै कृषिको प्रवर्धन गरिरहे पनि प्रभावकारी प्रचार अभाव देखिएको उल्लेख गर्दै फोटो पत्रकारहरूको क्यामेराले यी सम्पदालाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने उहाँको विश्वास थियो ।

पछिल्लो समय जनसङ्ख्याको ठूलो हिस्सा काठमाडौं, पोखरा तथा विदेशतर्फ बसाइँसराइ हुँदा जनशक्ति अभावको चुनौती रहेको पनि उहाँले औंल्याउनु भयो ।

स्थानीय युवालाई गाउँमै टिकाउन कृषि अनुदान तथा घाटु, कृष्णचरित्र, बालन नाच जस्ता सांस्कृतिक परम्पराको संरक्षणमा सहयोग गरिँदै आएको जानकारी दिनु भयो ।

यस वर्ष मादी गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि १५ लाख रुपियाँ बराबरको बजेट ५०–५० सहकार्य कार्यक्रममा विनियोजन गरेको जनाएको छ ।

पालिकाको कुल ५६३ वर्ग किलोमिटर क्षेत्रफलमध्ये ठूलो भाग अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना भित्र पर्ने भएकाले सोहीसँग सहकार्य गरी पर्यटन र स्थायी बसोबासका कार्यक्रम सञ्चालन भइरहेको अध्यक्ष गुरुङले बताउनु भयो । यद्यपि माथिल्लो भेगमा सञ्चालनमा रहेका होटल तथा चियाघर दर्तामा केही समस्या रहेको पनि उहाँले उल्लेख गर्नु भयो ।

प्रमुख प्रशासकीय अधिकृत चेतनारायण भण्डारी ले पर्यटन प्रवर्धनका लागि नयाँ कार्यक्रमहरू थप गर्दै जाने बताउनुभयो। सिक्लेस र ताङतिङमा जस्तै अन्य क्षेत्रहरूमा पनि पर्यटकको तथ्याङ्क सङ्कलन सुरु गर्नुपर्नेमा जोड दिँदै प्रचारप्रसारको पर्खाइमा रहेका गन्तव्यहरूमा पत्रकारहरूको ध्यान पुग्न आवश्यक रहेको उहाँले बताउनु भयो । फोटो पत्रकारिताले सिर्जना गर्ने भावनात्मक प्रभाव र पहिचान निर्माणको क्षमताले यसको महत्व झल्काउने उहाँको भनाइ थियो ।

नेपाल पत्रकार महासङ्घ गण्डकीका अध्यक्ष रमेश पौडेल ले सूचना प्रविधिको युगमा प्रचारप्रसारको भूमिका अतुलनीय रहेको बताउँदै ग्रामीण पर्यटन प्रवर्धनमा पत्रकारहरूको सकारात्मक भूमिका निरन्तर रहनुपर्ने धारणा राख्नु भयो ।

कार्यक्रममा मादी गाउँपालिका–३ का अध्यक्ष विकास गुरुङ तथा याङ्जाकोट सामुदायिक होमस्टेका अध्यक्ष रोशन गुरुङ ले याङ्जाकोटको प्राकृतिक र सांस्कृतिक महत्वबारे जानकारी दिनु भयो ।

हाल गाउँमा १० घरमा होमस्टे सञ्चालनमा रहेको र २०६७ सालदेखि सुरु गरिएको होमस्टे सेवाले पर्यटकलाई सहजता प्रदान गरेको बताइयो ।

गाउँका प्रमुख आकर्षणमा ढुङ्गाले छाएका घर, हिमाल र डाँडाकाँडाको दृश्य, ऐतिहासिक पोखरी, गुरुङ मन्दिर तथा कोट क्षेत्र रहेका छन् । यहाँ पुग्ने पाहुनालाई स्थानीय अर्गानिक खानाको स्वाद चखाउने व्यवस्था गरिएको आयोजकले जानकारी दिएका छन् ।

नेपाल फोटो पत्रकार संघ, कास्कीका अध्यक्ष राम गुरुङ को अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहसचिव दुर्गा रानामगर ले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव धनबहादुर गुरुङ (सुमन) ले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा पत्रकार, स्थानीयवासी तथा जनप्रतिनिधि गरी करिब ६० जनाको सहभागिता रहेको थियो ।

Author

Related News