मानव आवाज

२०८३ बैशाख ११ गते
00: 00: 00
२०८३ बैशाख ११ गते

एकल महिलाको समावेशी सहभागितामा जोड

पोखरा पोखरामा आयोजित एक कार्यक्रमका सहभागीले एकल महिलाको समावेशी सहभागितामा जोड दिएका छन् ।

पोखरामा २०८३ वैशाख ११ गते आयोजित “द्वन्द्वपीडित, सिमान्तकृत र एकल महिलाहरूको मानवअधिकारको अवस्था र समसामयिक मुद्दाहरू” विषयक प्रदेशस्तरीय कार्यशाला गोष्ठीका सहभागीले यस्तो कुरामा जोड दिएका हुन् ।

“समानतालाई अगाडि बढाउँदै” भन्ने नारासहित २०५२ सालमा स्थापना भई एकल (विधवा) महिलाहरूको हक-अधिकार, सशक्तिकरण तथा सामाजिक न्यायका क्षेत्रमा क्रियाशील संस्था मानवअधिकारका लागि महिला, एकल महिला समूह गण्डकी प्रदेश को आयोजनामा तथा कुर्वे, बुष्ट्रोको आर्थिक सहयोगमा कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री रेखा गुरूङले राज्यको प्रमुख दायित्व नागरिकलाई न्यायको अनुभूति गराउनु रहेको उल्लेख गर्दै गण्डकी प्रदेश सरकार यस विषयमा प्रतिबद्ध रहेको बताउनुभयो ।

उहाँले एकल महिलाहरूलाई सशक्तिकरणमार्फत समाजको मूलधारमा स्थापित गर्नुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय मानवअधिकार आयोगकी सदस्य तथा मानवअधिकारका लागि महिला, एकल महिला समूहकी संस्थापक अध्यक्ष डा. लिली थापाले राज्यका हरेक तहमा एकल महिलाहरूको समावेशी सहभागिता सुनिश्चित गरिनुपर्नेमा जोड दिनुभयो ।

राज्यले एकल महिलालाई पाँच प्रकारमा वर्गीकरण गरेको जानकारी दिँदै उहाँले सम्बन्धविच्छेद भएका, पतिको मृत्यु भएका, बेपत्ता भएका, विवाह नगरेका तथा पतिसँग अलग बसेका महिलाहरूको सङ्ख्या करिब १२ प्रतिशत रहेको बताउनुभयो ।

कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाकी उपाध्यक्ष चन्द्रकला देवकोटा, मानवअधिकारका लागि महिला, एकल महिला समूहकी केन्द्रीय अध्यक्ष शोभा विसी, सङ्कल्प गण्डकी प्रदेशकी अध्यक्ष अधिवक्ता सरिता तिमिल्सिना, पङ्गेनी, गैरसरकारी संस्था महासङ्घ गण्डकी प्रदेश समिति अध्यक्ष पदमराज पहारी, संस्थाका गण्डकी प्रदेशका संस्थापक अध्यक्ष दुर्गा न्यौपानेलगायतले एकल महिलाहरूको कानुनी हक-अधिकार कार्यान्वयनका लागि सबै एकजुट भई राज्यलाई दबाब दिनुपर्नेमा जोड दिनुभयो ।

गोष्ठीमा ११ जिल्लाका जिल्ला अध्यक्षहरूले जिल्लामा सम्पन्न गतिविधि तथा कार्यक्रम सञ्चालनका क्रममा भोगिएका चुनौतीहरूबारे प्रस्तुतिकरण गर्नुभएको थियो ।

मानवअधिकारका लागि महिला, एकल महिला समूह गण्डकी प्रदेशकी अध्यक्ष प्रमिला तझ्याको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष अमृता सिग्देलले स्वागत मन्तव्य राख्दै कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो भने कार्यक्रम सञ्चालन सचिव मिना अधिकारीले गर्नुभएको थियो ।

गोष्ठीमा ११ जिल्लाका जिल्ला अध्यक्ष, सचिव र कोषाध्यक्षसहित करिब ७० जनाको सहभागिता रहेको थियो ।

Author

Related News