पोखरा । पोखरामा आयोजित एक कार्यक्रममा वक्ताहरूले प्राकृतिकभन्दा पनि मानवजन्य कारणले विपद्को क्षति बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरेका छन् ।
पोखरा महानगरपालिका तथा आसपासका क्षेत्रमा अव्यवस्थित ढल, सडक निर्माणका क्रममा हुने लापरबाही तथा भूउपयोग नीतिको पालना नहुँदा विपद्को जोखिम बढेको औँल्याइएको छ ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा कास्कीको आयोजनामा ‘विपद् पूर्वतयारी तथा प्रतिकार्य’ सम्बन्धी सरोकारवाला निकायबीच अन्तरक्रिया कार्यक्रम जेठ ६ गते पोखरामा सम्पन्न भएको हो ।
कार्यक्रमकी प्रमुख अतिथि कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले विपद् व्यवस्थापन सामूहिक प्रयासबाट मात्र सम्भव हुने बताउँदै सबै पालिका, सुरक्षा निकाय तथा सामाजिक संस्थाहरू उच्च सतर्कतामा रहनुपर्ने र उपलब्ध स्रोतसाधनको अधिकतम उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
जल तथा मौसम विज्ञान विभागकी प्रतिनिधि शान्ति कँडेलले यस वर्ष जुन १ देखि सेप्टेम्बर ३० सम्मको मनसुन अवधिमा देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने सम्भावना (३५-४५ प्रतिशत) रहेको तथा तापक्रम सरदरभन्दा बढी रहने जानकारी दिनुभयो ।
उहाँले कम वर्षा हुने सम्भावना भए पनि विपद्का घटना कम हुने निष्कर्ष निकाल्न नहुने बताउँदै छोटो अवधिमा अत्यधिक वर्षा हुने प्रवृत्ति बढिरहेको उल्लेख गर्नुभयो ।
“यसले आकस्मिक बाढी र सहरी क्षेत्रमा डुबानको समस्या निम्त्याउन सक्छ, त्यसैले पूर्वतयारीमा कुनै कमी हुनु हुँदैन ।”-उहाँले भन्नुभयो ।
प्रिमनसुन अवधिमा पोखरालगायतका क्षेत्रमा सरदरभन्दा बढी वर्षा भइसकेकाले जमिन कमजोर भइसकेको र थोरै पानी पर्दा पनि पहिरो जान सक्ने जोखिम रहेकोतर्फ उहाँले सचेत गराउनुभयो ।
इन्सेक गण्डकी प्रदेशका संयोजक गणेश भण्डारीले विपद्लाई मानव अधिकारसँग जोडेर हेर्नुपर्ने धारणा राख्नुभयो ।
उहाँले सहरी क्षेत्रमा घर निर्माण गर्दा कम्तीमा २० प्रतिशत जमिन पानी सोस्न मिल्ने गरी खाली राख्नुपर्ने मापदण्ड पालना नहुँदा तथा जथाभावी ढलान गरिँदा पोखराका खोला, खोल्सा र सडकहरूमा बाढीको समस्या बढेको उल्लेख गर्नुभयो ।
सहरी विकास तथा भवन निर्माण विभागका प्रतिनिधिले भवन निर्माण संहिताको अनिवार्य पालना गर्नुपर्ने तथा आगलागी जस्ता विपद्बाट बच्न ठूला भवनहरूमा अग्नि नियन्त्रण उपकरण र सुरक्षित निकासको व्यवस्था आवश्यक रहेको बताउनुभयो ।
मादी गाउँपालिकाका अध्यक्ष देवीजङ्ग गुरुङले गाउँपालिकाले वडास्तरसम्म विपद् व्यवस्थापन समिति गठन गरिसकेको, सुरक्षा निकायका अस्थायी क्याम्पहरूलाई आवश्यक सामग्री उपलब्ध गराइसकेको तथा विपद् कोषमा करिब ४८ लाख रुपियाँ सुरक्षित राखेको जानकारी दिनुभयो । साथै दुईवटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको उहाँले बताउनुभयो ।
“कतिपय अवस्थामा मानिसहरू आफैँ जोखिमयुक्त भीरपाखा वा खोला किनारमा बसोबास गर्दा मानवजन्य विपद् निम्तिने गरेको छ। यसमा नागरिक पनि सचेत हुनुपर्छ ।”-अध्यक्ष गुरुङले भन्नुभयो ।
पोखरा महानगरपालिकाको विपद् व्यवस्थापन शाखाकी इन्जिनियर शोभा शर्माले नदी तथा खोलाको मापदण्ड मिचेर बनाइएका घरहरू बाढी र ऐलानी जग्गामा बनेका घरहरू पहिरोको उच्च जोखिममा रहेको तथ्याङ्क प्रस्तुत गर्नुभयो ।
कानुनी जटिलताका कारण त्यस्ता बस्तीलाई ठूलो राहत वा क्षतिपूर्ति उपलब्ध गराउन कठिन हुने भएकाले दीर्घकालीन रूपमा बस्ती स्थानान्तरणको नीति आवश्यक रहेको उहाँले सुझाव दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक गणेश पाण्डेले सुरक्षा निकाय चौबिसै घण्टा विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहे पनि स्थानीय तहका प्रहरी इकाइहरूमा उद्धार सामग्रीको अभाव रहेको गुनासो गर्नुभयो ।
“घटनास्थलमा सबैभन्दा पहिले स्थानीय प्रहरी पुग्ने गर्छन् । तर, हामीसँग बञ्चरो र डोरीबाहेक आधुनिक उपकरण हुँदैनन् । स्थानीय तहले कम्तीमा चेनसो मेसिन र लाइफ ज्याकेट उपलब्ध गराए धेरैको ज्यान जोगाउन सकिन्छ ।”-उहाँले भन्नुभयो ।
उहाँले मौसम पूर्वानुमानसम्बन्धी जानकारी प्रहरी कन्ट्रोल रुममा समयमै प्राप्त भए जिल्लाभरिका प्रहरी युनिट तथा स्थानीय जनप्रतिनिधिमार्फत सर्वसाधारणलाई सुरक्षित स्थानमा सार्न सकिने व्यावहारिक उपाय पनि प्रस्ताव गर्नुभयो ।
फेवाताल र बेगनास तालमा नियमविपरीत साँझपख सञ्चालन हुने डुङ्गा तथा जथाभावी गरिने छोटा चलचित्र (सर्ट फिल्म) छायाङ्कनले जोखिम बढाएको भन्दै त्यसलाई नियमन गरिने उहाँले जानकारी दिनुभयो ।
पोखरा उद्योग वाणिज्य सङ्घकी महासचिव शोभा गौतमले विपद् व्यवस्थापनका लागि सङ्घको छुट्टै कोष रहेको र उद्योगी व्यवसायी राहत तथा उद्धारमा सधैं सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाउनुभयो ।
साथै प्रत्येक पसल तथा व्यवसायमा अग्नि नियन्त्रण उपकरण (फायर एक्सटिङ्गुइसर) राख्ने र त्यसको प्रयोगबारे सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका निवर्तमान सभापति डण्डराज शर्माले जिल्लाभर रेडक्रसका ४८ उपशाखा क्रियाशील रहेको र विपद्का बेला रेडक्रसकर्मीहरू निरन्तर उद्धारमा खटिने गरेको जानकारी दिनुभयो ।
हाल रेडक्रस कास्की १०० परिवारलाई पुग्ने खाद्य तथा गैरखाद्य सामग्रीसहित तयारी अवस्थामा रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा सिर्जना विकास केन्द्रका अध्यक्ष चन्द्र गिरी, मानव अधिकार आयोग गण्डकी प्रदेशका अधिकृत कृष्णप्रसाद अधिकारी, गैसस गण्डकीका अध्यक्ष पदमराज पहारीलगायतले मनसुन नजिकिँदै गर्दा विपद्को जोखिम न्यूनीकरण र पूर्वतयारीलाई प्रभावकारी बनाउन आवश्यक सुझाव प्रस्तुत गर्नुभएको थियो ।
नेपाल रेडक्रस सोसाइटी कास्कीका मन्त्री सन्तोष अधिकारीले सहभागीका सुझावलाई समेटेर आगामी दिनमा एकीकृत तथा प्रभावकारी प्रतिकार्य कार्ययोजना तयार गरिने जानकारी दिनुभयो ।
कार्यक्रमको समापन गर्दै नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति उर्मिला खड्का भण्डारीले सहयोग गर्ने सरोकारवाला संस्था तथा उपस्थित सबैप्रति धन्यवाद व्यक्त गर्नुभयो ।