पोखरा । “हो! हामी क्षयरोग अन्त्य गर्छौं: राष्ट्रिय अभियान, हाम्रो योगदान” भन्ने नाराका साथ ४४औँ विश्व क्षयरोग दिवस गण्डकी प्रदेशमा विविध जनचेतनामूलक कार्यक्रमका साथ मनाइएको छ ।
गण्डकी प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय अन्तर्गत प्रादेशिक रोग नियन्त्रण केन्द्र, पोखराको आयोजनामा सम्पन्न कार्यक्रममा बोल्दै स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले क्षयरोगको पहिचान, नियन्त्रण र उन्मूलनका लागि सरकार प्रतिबद्ध रहेको बताउनु भयो ।
उहाँले समयमै परीक्षण, नियमित औषधि सेवन र जनचेतना अभिवृद्धिबाट क्षयरोगमुक्त समाज निर्माण गर्न सकिने उल्लेख गर्नु भयो ।
मन्त्री पाठकले सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने तथा सन् २०५० सम्म पूर्ण रूपमा उन्मूलन गर्ने राष्ट्रिय लक्ष्य प्राप्तिका लागि प्रदेश सरकार सक्रिय रूपमा लागिरहेको जानकारी दिनु भयो ।

स्थानीय तहसँग समन्वय गर्दै लुकेर रहेका बिरामी पत्ता लगाउने, आधुनिक प्रविधिबाट निदान गर्ने र संक्रमण फैलिन नदिन विशेष पहल भइरहेको उहाँले बताउनु भयो ।
प्रादेशिक रोग नियन्त्रण केन्द्र, पोखराका महानिर्देशक मनमोहन मिश्रले क्षयरोगका प्रकार, लक्षण तथा उपचारबारे जानकारी दिँदै उहाँले नियमित औषधि सेवन र सरसफाइले रोग नियन्त्रण सम्भव रहेको बताउनु भयो । उहाँका अनुसार सरकारी स्वास्थ्य संस्थामा क्षयरोगको औषधि निःशुल्क उपलब्ध छ ।
क्षयरोगका मुख्य लक्षणमा दुई हप्ताभन्दा बढी समयसम्म खोकी लाग्नु, ज्वरो आउनु, तौल घट्नु, छाती दुख्नु तथा खकारमा रगत देखिनु पर्दछन् ।
जिन एक्सपर्ट प्रविधिबाट दुई घण्टामै रोगको पहिचान तथा औषधि प्रतिरोधी अवस्था पत्ता लगाउन सकिने जानकारी दिइयो ।
कार्यक्रममा क्षयरोगीलाई उपचार अवधिभर मासिक ५ सय रुपियाँ पोषण भत्ता तथा औषधि प्रतिरोधी बिरामीलाई १ हजार रुपियाँदेखि ३ हजार रुपियाँसम्म सहयोग उपलब्ध गराउने व्यवस्था रहेको जानकारी दिइयो ।
गण्डकी प्रदेशमा प्रत्येक वर्ष करिब ५ हजार ५ सय क्षयरोगका नयाँ बिरामी हुने अनुमान गरिए पनि चालु आर्थिक वर्षमा २ हजार ८ सय १ जना मात्रै उपचारमा आएको तथ्याङ्क सार्वजनिक गरिएको छ । कास्की र नवलपरासी जिल्लामा सबैभन्दा बढी बिरामी फेला परेका छन् ।
प्रदेशभर ८ सय २९ डट्स केन्द्र, १० जिन एक्सपर्ट केन्द्र तथा विभिन्न उपचार तथा परीक्षण केन्द्रमार्फत सेवा प्रवाह भइरहेको छ ।
सो अवसरमा पोखरा महानगरपालिका-१० रामघाटबाट सुरु भएको र्याली रानिपौवा, महेन्द्रपुल हुँदै चिप्लेढुङ्गासम्म पुगेको थियो । साथै सचेतनामूलक सडक नाटक प्रदर्शन गरी जनचेतना अभिवृद्धि गरिएको थियो ।
