मानव आवाज

२०८३ श्रावण ८ गते
00: 00: 00
२०८३ श्रावण ८ गते

नागरिक समाज दलीय प्रभावमुक्त भई अधिकारको पक्षमा उभिनुपर्नेमा जोड

पोखरा । वर्तमान जटिल राजनीतिक तथा सामाजिक परिस्थितिमा नागरिक समाज कुनै पनि दलीय प्रभाव र हस्तक्षेपबाट मुक्त भई आम नागरिकका मौलिक अधिकार, सामाजिक न्याय तथा दण्डहीनताको अन्त्यका लागि निर्भीक रूपमा उभिनुपर्नेमा अधिकारकर्मी, बुद्धिजीवी तथा नागरिक अगुवाहरूले जोड दिएका छन् ।

शान्तिका लागि नागरिक समाजको सञ्जाल, पोखराको आयोजनामा “वर्तमान परिवेशमा नागरिक समाजको भूमिका र दायित्व” विषयक अन्तरक्रिया कार्यक्रम २०८३ साउन ८ गते पोखरामा सम्पन्न भएको हो ।

कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश कार्यालयकी प्रमुख नीतु गर्तौलाले नागरिक समाज र आयोग एकअर्काका परिपूरक रहेको बताउँदै मानव अधिकारकर्मीहरूले कुनै राजनीतिक दलको सक्रिय कार्यकर्ता नभई निष्पक्षता, तटस्थता र स्वअनुशासन कायम राख्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रमको पहिलो सत्रमा अधिवक्ता तथा पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापक सम्राट कुन्जेडाले “वर्तमान अवस्थामा नागरिक समाजको भूमिका र दायित्व” विषयक अवधारणापत्र प्रस्तुत गर्दै मानव अधिकार संविधान र कानुनी दस्तावेजमा मात्र सीमित नभई नागरिकको दैनिक जीवनमा अनुभूति हुनुपर्ने बताउनुभयो ।

राज्यका निकायलाई निरंकुश र स्वेच्छाचारी बन्न नदिन तथा नागरिक अधिकारको सुनिश्चितताका लागि नागरिक समाजले निरन्तर पहरेदारको भूमिका निर्वाह गर्नुपर्ने उहाँको भनाइ थियो ।

अवधारणापत्रमाथि टिप्पणी गर्दै पृथ्वीनारायण क्याम्पसका पूर्व क्याम्पस प्रमुख गेहेश्वर कोइरालाले संविधानमा मौलिक हकको व्यवस्था भए पनि आवश्यक कानुन समयमै नबन्दा नागरिक गुणस्तरीय शिक्षा, स्वास्थ्य र सार्वजनिक सेवाबाट वञ्चित हुनुपरेको उल्लेख गर्नुभयो ।

राज्यका निकायमा देखिएको ढिलासुस्ती र बढ्दो सामाजिक असन्तुष्टिप्रति नागरिक समाजले सरकारलाई निरन्तर खबरदारी गर्नुपर्ने उहाँको भनाइ थियो ।

लेखनाथ उद्योग वाणिज्य सङ्घकी अध्यक्ष जानुका पराजुली अधिकारीले सामाजिक सञ्जालमा बढ्दो चारित्रिक हत्या, भ्युजको होडबाजी र महिलामाथि हुने हिंसाले समाजमा गम्भीर मनोवैज्ञानिक असर पारिरहेको भन्दै नागरिक समाजले यसतर्फ पनि प्रभावकारी भूमिका खेल्नुपर्ने बताउनुभयो ।

वरिष्ठ अधिवक्ता एवम् सञ्जालका पूर्व संयोजक रामप्रसाद घिमिरेले द्वन्द्वकालमा नागरिकको जिउधनको सुरक्षाका लागि स्थापना भएको सञ्जालले सधैँ दलीय पूर्वाग्रहबाट मुक्त रही निष्पक्ष रूपमा नागरिक हितको पक्षमा उभिनुपर्ने धारणा राख्नुभयो ।

पूर्व संयोजक विष्णुप्रसाद बरालले औपचारिक छलफलमा मात्र सीमित नभई समाजमा वास्तविक परिवर्तन ल्याउने परिणाममुखी कार्य आवश्यक रहेको बताउँदै राजनीतिक दलहरूले नागरिक आन्दोलनलाई आफ्नो स्वार्थअनुसार प्रयोग गर्न खोज्दा नागरिक समाज कमजोर बन्दै गएको टिप्पणी गर्नुभयो ।

उहाँले मानव अधिकारलाई मानिसमा मात्र सीमित नराखी प्रकृति, वातावरण र जीवजन्तुको संरक्षणसँग जोडेर ‘नव–मानवतावादी’ सोचका साथ अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

अर्का पूर्व संयोजक रामप्रसाद सुवेदीले राज्यका सकारात्मक काममा साझेदारी गर्ने, अधिकार उल्लङ्घनका घटनामा खबरदारी गर्ने र निरन्तर पहरेदारीको भूमिका निर्वाह गर्ने दिशामा नागरिक समाज अघि बढ्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा गैरसरकारी संस्था महासङ्घ कास्कीकी अध्यक्ष इन्दिरा पौडेल, द्वन्द्वपीडित दुदराज अधिकारी, अधिकारकर्मी गिरिधारी सुवेदी, भरतमणि भट्टराई, बालअधिकार अभियन्ता शिव शर्मा चापागाईं, शेखर गौतम तथा महिला मानवअधिकार रक्षक सञ्जाल कास्कीका अध्यक्ष केसु भुजेलले द्वन्द्वपीडितले अझै न्याय नपाएको, स्वास्थ्य र शिक्षामा नागरिकको अधिकार खुम्चिँदै गएको भन्दै नागरिक समाजले निरन्तर खबरदारी गर्नुपर्नेमा जोड दिनुभयो ।

सोमप्रसाद श्रेष्ठ
यसैबिच, सञ्जालको अधिवेशनले आगामी एक वर्षका लागि कास्की जिल्ला अदालत बार एशोसिएसनका पूर्व अध्यक्ष अधिवक्ता सोमप्रसाद श्रेष्ठलाई सर्वसम्मत रूपमा संयोजक चयन गरेको छ ।

महिला, दलित, अपाङ्गता भएका व्यक्ति तथा सीमान्तकृत समुदायको समावेशी प्रतिनिधित्व सुनिश्चित हुने गरी ५ देखि ७ सदस्यीय सचिवालय गठन गर्ने निर्णय पनि गरिएको छ ।

पोखराका २६ ओटा सामाजिक सङ्घ–संस्था आबद्ध रहेको सञ्जालका नवनिर्वाचित संयोजक श्रेष्ठले कानुनी अनुभवलाई उपयोग गर्दै नागरिक अधिकार, शान्ति र सामाजिक न्यायको अभियानलाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

सञ्जालकी संयोजक बिना सिलवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पोखरास्थित २६ ‌ओटा सामाजिक सङ्घसंस्थाका ६७ जनाको सहभागिता रहेको थियो।

Author

Share the News

Recent News

Related News