मानव आवाज

२०८३ असार १९ गते
00: 00: 00
२०८३ असार १९ गते

आन्तरिक भ्रमणले ओझेलमा परेका पर्यटकीय गन्तव्यको पहिचानमा टेवा पुर्‍याउने

पोखरा । कास्की, पर्वत र स्याङ्जा जिल्लाको सङ्गमस्थलमा अवस्थित पञ्चासे क्षेत्र महत्वपूर्ण पर्यटकीय, धार्मिक तथा प्राकृतिक गन्तव्यका रूपमा परिचित छ ।

समुद्री सतहबाट करिब २,५१७ मिटरको उचाइमा रहेको यो क्षेत्र जैविक विविधता, प्राकृतिक सौन्दर्य र सांस्कृतिक सम्पदाले समृद्ध छ ।

पञ्चासे पदयात्रा मार्गका गाउँहरूमा सञ्चालित होमस्टेहरूले ढिँडो, सिस्नुको तरकारी, कोदोको रोटी लगायत स्थानीय परिकार र मौलिक संस्कृतिमार्फत पर्यटकलाई स्वागत गर्ने गरेका छन् ।

यहाँका गाउँमा परम्परागत कृषि प्रणाली, जीवनशैली र सामाजिक मूल्य–मान्यता अझै जीवित रहेको पाइन्छ ।

पर्यटनका लागि प्रकृति, संस्कृति र आतिथ्य” भन्ने मूल नारासहित सञ्चारिका समूह नेपाल, गण्डकी प्रदेशको आयोजना तथा नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालय, पोखराको आर्थिक सहयोगमा पञ्चासे पर्यटन प्रवर्धन कार्यक्रम’ २०८३ असार १७ र १८ गते पोखरा महानगरपालिका–२३ अन्तर्गत पञ्चासे होमस्टे, उपल्लो सिधानेमा सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालय, पोखराका प्रमुख मणिराज लामिछानेले दुईदिने कार्यक्रम छोटो भए पनि महिला पत्रकारहरूको स्थलगत भ्रमणले पञ्चासेको पर्यटन प्रवर्धनमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले यस कार्यक्रममार्फत पञ्चासेको पर्यटन सम्भावना अझ व्यापक रूपमा उजागर हुने र पर्यटन क्षेत्रलाई सकारात्मक टेवा पुग्ने बताउनुभयो ।

सञ्चारिका समूह नेपाल, गण्डकी प्रदेशकी सल्लाहकार तथा अधिवक्ता सरिता तिमिल्सेना पङ्गेनीले गण्डकी प्रदेशको राजधानी पोखरा महानगरपालिका–२३ मा रहेको पञ्चासे क्षेत्रको प्राकृतिक, धार्मिक तथा सांस्कृतिक सम्पदाको प्रचार–प्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्धन गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिकी महासचिव जमुना शर्मा वर्षाले यस्ता कार्यक्रमले पत्रकारहरूको क्षमता अभिवृद्धिसँगै पर्यटन प्रवर्धनका विषयमा प्रभावकारी रूपमा कलम चलाउन प्रेरणा मिल्ने बताउनुभयो ।

उहाँले स्थलगत अवलोकन भ्रमणबाट पत्रकारहरूले स्थानीय पर्यटनका सम्भावना प्रत्यक्ष रूपमा बुझ्ने र त्यसलाई समाचार तथा फिचरमार्फत आम नागरिकसमक्ष प्रभावकारी रूपमा प्रस्तुत गर्न सक्ने उल्लेख गर्नुभयो ।

पत्रकार तथा अधिवक्ता गीताकुमारी लामिछानेले पञ्चासेको प्रचार–प्रसार बढेसँगै आन्तरिक तथा बाह्य पर्यटकको आगमन वृद्धि भई स्थानीय पर्यटन व्यवसाय र समुदायको आयआर्जनमा सकारात्मक प्रभाव पर्ने धारणा राख्नुभयो ।

दुई दिनसम्म सञ्चालन भएको कार्यक्रममा पञ्चासे क्षेत्रको पर्यटन सम्भावना, पूर्वाधार विकास, वातावरण संरक्षण, स्थानीय संस्कृति संरक्षण तथा पर्यटनमार्फत स्थानीय समुदायको आर्थिक समृद्धिका विषयमा छलफल गरिएको थियो ।

कार्यक्रममा सहभागी पत्रकार तथा सरोकारवालाहरूले पञ्चासेलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न स्थानीय सरकार, नेपाल पर्यटन बोर्ड, निजी क्षेत्र, स्थानीय समुदाय तथा सञ्चार क्षेत्रबिच थप समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए ।

सहभागीहरूले यस्ता प्रवर्धनात्मक कार्यक्रमले ओझेलमा परेका पर्यटकीय गन्तव्यहरूको पहिचान स्थापित गर्न, पर्यटन बजार विस्तार गर्न तथा स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए ।

पञ्चासे होमस्टे (घरबास) समितिका सञ्चालक होमनाथ पौडेलले भौगोलिक विकटता र सडक पहुँचका कारण अपेक्षित रूपमा विकास हुन नसकेको पञ्चासे क्षेत्रको पर्यटन प्रवर्धनमा सञ्चारिका समूह नेपालले आयोजना गरेको कार्यक्रमले नयाँ ऊर्जा थपेको बताउनुभयो ।

सञ्चारिका समूह नेपाल, गण्डकी प्रदेशकी अध्यक्ष राधिका कँडेलले सञ्चार माध्यमहरूले पञ्चासे क्षेत्रको पर्यटन सम्भावनालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म प्रभावकारी रूपमा पुर्‍याउन सामूहिक प्रतिबद्धता आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रमका सहभागी पत्रकारहरूले पञ्चासे क्षेत्रका पर्यटकीय गन्तव्य, स्थानीय होमस्टे, प्राकृतिक सौन्दर्य, जैविक विविधता तथा धार्मिक एवम् सांस्कृतिक सम्पदाको स्थलगत अवलोकन गरेका थिए ।

कार्यक्रममा सञ्चारिका समूह नेपाल, गण्डकी प्रदेशकी महासचिव उमा आलेले स्वागत मन्तव्यसहित कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो ।

Author

Share the News

Recent News

Related News