मानव आवाज

२०८३ जेष्ठ ४ गते
00: 00: 00
२०८३ जेष्ठ ४ गते

कास्की बार एसोसिएसनमा डिएलए-पिपिएलए गठबन्धनको प्यानल विजयी

पोखरा । कास्की जिल्ला अदालत बार एसोसिएसनको आगामी दुई वर्षे कार्यकालका लागि सम्पन्न निर्वाचनमा डिएलए र पिपिएलएको संयुक्त गठबन्धनबाट अधिवक्ता गणेशबहादुर आले अध्यक्षमा निर्वाचित हुनुभएको छ ।

२०६५ सालमा स्थापित बार एसोसिएसनको निर्वाचनमा आले अध्यक्षका प्रत्याशी पुष्पराज दाहाललाई फराकिलो मतान्तरले पराजित गर्दै नेतृत्व हात पार्न सफल हुनुभएको हो ।

खसेको ८३ मतमध्ये आलेले ६० मत प्राप्त गर्दा दाहालले १९ मत प्राप्त गर्नुभएको थियो । निर्वाचन समितिका संयोजक अधिवक्ता पदमपाणि देवकोटाका अनुसार कुल ९३ सदस्य रहेकामा ८३ जनाले मतदान गरेका थिए भने ४ मत बदर भएको थियो ।

यसपटकको निर्वाचनमा डिएलए र पिपिएलएको संयुक्त गठबन्धनविरुद्ध स्वतन्त्र अधिवक्ताहरूको छुट्टै प्यानल प्रतिस्पर्धामा उत्रिएको थियो । तर, उक्त प्यानलबाट कुनै पनि उम्मेदवार विजयी हुन सकेनन् ।

संयुक्त गठबन्धनबाट उपाध्यक्षमा यामप्रसाद पौडेल, सचिवमा भूपराज पोखरेल, सहसचिवमा अञ्जना बराल सुवेदी तथा कोषाध्यक्षमा सुष्मा ओझा निर्वाचित हुनुभएको छ । सहसचिव पदमा भने अञ्जना बराल सुवेदी यसअघि नै निर्विरोध निर्वाचित हुनुभएको थियो ।

त्यसैगरी सदस्य पदमा पल्लवी न्यौपाने, सुमित्रा पराजुली, प्रदीपकुमार राना, प्रदीप अधिकारी, संगीता काफ्ले, चित्रबहादुर सुनार, गोविन्दप्रसाद वाग्ले र बुद्धिप्रसाद सुवेदी विजयी हुनुभएको छ ।

अध्यक्षमा निर्वाचित भएपछि आलेले कानुन व्यवसायीहरूको पेसागत हकहित संरक्षणसँगै बार र बेञ्चबीच न्याय सम्पादनमा समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले नयाँ कानुन व्यवसायीलाई प्रोत्साहन गर्ने तथा भ्रष्टाचार र अनियमिततामा संलग्न कानुन व्यवसायीविरुद्ध कडा रूपमा उभिने बताउनुभयो ।

पोखरा महानगरपालिका-१५ गलेश्वरचोक निवासी आले २०५४ सालदेखि कानुन व्यवसायमा सक्रिय हुनुहुन्छ ।

यसअघि उहाँले कार्यसमिति सदस्य हुँदै उच्च अदालत बार एसोसिएसन पोखराको सचिवको जिम्मेवारीसमेत सम्हालिसक्नुभएको छ ।

कास्की जिल्ला बारमा विगतदेखि नै पिपिएलए (एमाले निकट) र डिएलए (कांग्रेस निकट) समूहको प्रभाव रहँदै आएको छ ।

दुई वर्षअघिको निर्वाचनबाट अधिवक्ता भगवती पहारी कास्की बारको इतिहासमै पहिलो महिला अध्यक्ष बन्नुभएको थियो ।

Author

Share the News

Recent News

Related News