पोखरा । कास्कीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) कुमानसिंह गुरुङले वर्षायाममा सम्भावित विपद्को जोखिमलाई ध्यानमा राख्दै जिल्लावासीलाई उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ ।
पोखरा महानगरपालिका वडा नं. १५ र १७ को सीमास्थित रातोपैह्रामा चट्टानसहितको पहिरो खस्दा सेती नदीको बहाव आंशिक रूपमा अवरुद्ध भई पानीको सतह बढेपछि २०८३ साउन ३ गते प्रजिअ गुरुङको नेतृत्वमा स्थलगत अनुगमन गरिएको हो ।
अनुगमन टोलीमा पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङ, सहायक प्रमुख जिल्ला अधिकारीद्वय चित्राङ्गत बराल र थमनसिंह गौतम, चारओटै सुरक्षा निकायका प्रमुख तथा सिंचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना पोखराका प्रमुख विदुर श्रेष्ठ सहभागी हुनुहुन्थ्यो ।
स्थानीयसँगको छलफलपछि प्रजिअ गुरुङले सेती नदीको बहाव अवरुद्ध भएको विषयमा जिल्ला प्रशासन गम्भीर रहेको बताउँदै विस्तृत प्राविधिक अध्ययनपछि आवश्यक निर्णय लिइने जानकारी दिनुभयो ।
उहाँले नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा सम्बन्धित निकायसँग समन्वय गरेर आवश्यक व्यवस्थापनको प्रक्रिया अघि बढाइएको बताउनुभयो ।
प्रजिअ गुरुङले नदीमा पानीको बहाव बढ्दै गएको र अवरुद्ध स्थानमा बनेको प्राकृतिक जलाशय एकैपटक फुटे तल्लो तटीय क्षेत्रमा ठूलो क्षति पुग्न सक्ने सम्भावना रहेको उल्लेख गर्दै जोखिमको वैज्ञानिक मूल्याङ्कन गरी आवश्यक व्यवस्थापन गरिने बताउनुभयो ।
उहाँले सेती नदीको तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई उच्च सतर्कता अपनाउन, अनावश्यक रूपमा नदी आसपास नजान तथा सम्भावित विपद्को पूर्वतयारी गर्न आग्रह गर्नुभयो ।
यसैबीच, जिल्ला सुरक्षा समितिको साउन ३ गते बसेको बैठकले सेती नदीमा पहिरोका कारण परेको तत्कालीन तथा दीर्घकालीन प्रभाव, जोखिम क्षेत्रको पहिचान, रोकथामका उपाय र भविष्यमा अपनाउनुपर्ने कार्यसमेत समेटिएको विस्तृत अध्ययन प्रतिवेदन तयार गर्न सिंचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना पोखरा र पोखरा महानगरपालिकालाई समन्वयात्मक रूपमा काम गर्न निर्देशन दिएको छ। अध्ययनको प्रगति निरन्तर अनुगमन गर्ने निर्णय पनि बैठकले गरेको छ ।
पोखरा महानगरपालिकाले पनि भू–जोखिम तथा विपद् व्यवस्थापनका विषयमा दीर्घकालीन योजना आवश्यक रहेको जनाएको छ। नदीको प्राकृतिक बहाव अवरुद्ध हुँदा पानीले वैकल्पिक मार्ग खोज्ने क्रममा पोखराको चुनढुंगायुक्त कमजोर भू–संरचनाभित्र पानी प्रवेश गर्न सक्ने र त्यसले भ्वाङ पर्नेदेखि थप भूक्षयसम्मका जोखिम बढाउन सक्ने निष्कर्ष महानगरको छ ।
स्थानीय हरिप्रसाद बास्तोलाका अनुसार वैशाख महिनामा गएको सुख्खा पहिरोले सेती नदीको बहाव आंशिक रूपमा थुनिएपछि अहिले त्यहाँ प्राकृतिक झरनाजस्तो दृश्य देखिएको छ ।
उहाँले पहिरो थुनिएको क्षेत्रको दायाँ–बायाँ भाग अझै बिस्तारै भासिने तथा थप पहिरो खस्ने क्रम जारी रहेको जानकारी दिनुभयो ।
पछिल्ला केही दिनदेखिको लगातार वर्षापछि सेती नदीमा पानी पहिरोमाथिबाट झरेर झरनाजस्तो दृश्य देखिन थालेको छ। स्थानीयका अनुसार करिब ५० वर्षदेखि सेती नदीमा बाढी आउने गरेको भए पनि यसपटक देखिएको अवस्था पहिलो पटक हो ।
ढुंगेसाँघु आसपासको माथिल्लो क्षेत्रमा जमिन भासिने र सेती नदीको डिल खस्ने समस्या विगतदेखि नै देखिँदै आएको स्थानीयको भनाइ छ ।
यसले वर्षायाममा उक्त क्षेत्रको जोखिम थप बढेको भन्दै सम्बन्धित निकायले सतर्कता र आवश्यक व्यवस्थापनलाई तीव्रता दिएका छन् ।
“सुरक्षित रहौं, सचेत बनौं, सजग रहौँ र एकअर्कालाई सहयोग गरौं ।” भन्ने सन्देशसहित जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।