मानव आवाज

२०८३ श्रावण २३ गते
00: 00: 00
२०८३ श्रावण २३ गते

पोखरामा २०८३ साउन २४ गतेदेखि साविककै पसलबाट वितरण हुने

पोखरा । पोखरामा खाना पकाउने एलपी ग्यासको आपूर्ति क्रमशः सहज हुँदै आएको जनाइएको छ ।

ग्यासको आपूर्ति सामान्य अवस्थामा फर्किन थालेसँगै २०८३ साउन २४ गतेदेखि उपभोक्ताले साविककै पसल तथा डिलरबाट ग्यास खरिद गर्न पाउने व्यवस्था गरिएको छ ।

पोखरामा दैनिक करिब ३ हजार सिलिन्डर ग्यास खपत हुँदै आएकोमा पछिल्लो समय माग बढेर करिब १५ हजार सिलिन्डरसम्म पुगेपछि अभाव देखिएको थियो ।

अहिले दैनिक ९ देखि १० हजार सिलिन्डर ग्यास वितरण हुन थालेपछि आपूर्ति सहज बन्दै गएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो ।

बरालका अनुसार २०८३ साउन २४ गते पोखरा क्षेत्रमा करिब ११ हजार ५ सयदेखि १२ हजार सिलिन्डर एलपी ग्यास वितरण गर्ने तयारी गरिएको छ ।

पोखरा क्षेत्रमा १९ ओटा ग्यास कम्पनीले सेवा दिँदै आएका छन् । तीमध्ये शक्ति ग्यास प्रालिले पोखरा महानगर क्षेत्रमा करिब २ हजार ५ सय देखि ३ हजार सिलिन्डर तथा गृहलक्ष्मी ग्यास कम्पनी प्रालिले ३ हजार ५ सयदेखि ४ हजार सिलिन्डरसम्म वितरण गर्नेछ । अन्य कम्पनीबाट समेत गरी करिब १२ हजार सिलिन्डर आपूर्ति हुने बरालले बताउनुभयो ।

ग्यासको नियमित आपूर्ति तथा वितरणलाई सहज बनाउन सम्बन्धित निकायसँग आवश्यक समन्वय गर्नुका साथै स्थलगत अनुगमनलाई निरन्तरता दिइएको उहाँले जानकारी दिनुभयो ।

यसैक्रममा २०८३ साउन २३ गते सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको नेतृत्वमा प्रहरी र सञ्चारकर्मीसहितको संयुक्त टोलीले पोखरा महानगरपालिका-३२, गगनगौडास्थित शक्ति ग्यास र गृहलक्ष्मी ग्यासका मुख्य डिपोमा स्थलगत अनुगमन गरेको थियो । अनुगमनका क्रममा ग्यास आपूर्तिमा कुनै कैफियत नदेखिएको बरालले बताउनुभयो ।

पोखराका विभिन्न डिलरमा गरिएको अनुगमनका क्रममा भने पर्याप्त मात्रामा ग्यास सिलिन्डर मौज्दात नरहेको पाइएको थियो ।

सहायक प्रमुख जिल्ला अधिकारी थम्मनसिंह गौतमका अनुसार केही दिनयता डिपोबाटै ग्यास बिक्री वितरण गरिँदै आएको भए पनि अब आपूर्ति सहज बन्दै गएकाले विगतमा जस्तै साविकका पसल तथा डिलरबाटै ग्यास बिक्री वितरण गरिनेछ ।

पोखरामा साउनको पहिलो सातादेखि खाना पकाउने एलपी ग्यासको चरम अभाव देखिएपछि प्रशासनले कालोबजारी रोक्न तथा आपूर्ति र वितरण प्रणालीलाई व्यवस्थित बनाउन सम्बन्धित निकायसँग समन्वय गर्दै नियमित स्थलगत अनुगमन गर्दै आएको छ ।

Author

Share the News

Recent News

Related News