पोखरा । अनलाइन माध्यमको तीव्र विस्तारसँगै नेपालमा बालबालिकामाथि हुने यौन दुर्व्यवहार, शोषण र हिंसाका घटना बढ्दै गएको भन्दै सरोकारवालाले यसको रोकथाममा सञ्चारकर्मीको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।
“अनलाइन यौन दुर्व्यवहार र शोषणबाट बालबालिकालाई सुरक्षित राखौँ” भन्ने नारासहित भ्वाइस अफ चिल्ड्रेन ललितपुरको आयोजना, बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (सिजप) को सहकार्य तथा केएनएच जर्मनी र जर्मन कोअपरेसनको सहयोगमा ‘बालअधिकार प्रवर्धन तथा अनलाइन बाल यौन दुर्व्यवहार रोकथाममा सञ्चारकर्मीको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम २०८३ जेठ १७ गते पोखरामा सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै भ्वाइस अफ चिल्ड्रेनका उपनिर्देशक राजु घिमिरेले संस्थाले विगत २६ वर्षदेखि सडक, यौन दुर्व्यवहार तथा अन्य जोखिममा रहेका बालबालिकाको उद्धार, संरक्षण, पारिवारिक पुनर्मिलन र बालअधिकार संरक्षणका क्षेत्रमा काम गर्दै आएको जानकारी दिनुभयो ।
उहाँले गण्डकी प्रदेशमा अनलाइनमार्फत हुने बाल यौन दुर्व्यवहार रोकथामका लागि विभिन्न सरोकारवाला र सेवा प्रदायक संस्थासँग सहकार्य गरी कार्यक्रम सञ्चालन भइरहेको बताउनुभयो ।
पत्रकार गङ्गाधर पराजुलीले बालअधिकार प्रवर्धनमा सञ्चारकर्मीको भूमिकाबारे प्रस्तुति दिनुभएको थियो ।
उहाँले बालबालिकासम्बन्धी समाचार सम्प्रेषण गर्दा संवेदनशीलता, गोपनीयता र अधिकारको सम्मान गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा प्रस्तुत तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८१/८२ मा नेपाल प्रहरीको साइबर ब्युरोमा साइबर अपराधका ७ सय ७२ बालबालिकासम्बन्धी उजुरी दर्ता भएका थिए ।
तीमध्ये ३ सय ५१ बालक र ४ सय २१ बालिका रहेका छन् । डिजिटल प्रविधिको बढ्दो प्रयोगसँगै अनलाइन माध्यमबाट हुने यौन दुर्व्यवहार र शोषणका घटना बढ्दै गएको सहभागीहरूले औँल्याए ।
छलफलमा राष्ट्रिय समाचार समितिका बासुदेव पौडेल, नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशका महासचिव जमुना शर्मा, प्रेस काउन्सिल नेपालका पूर्व सदस्य केशवशरण लामिछाने, पत्रकार कमल पौडेल ‘अथक’, युवराज श्रेष्ठ, सन्देश श्रेष्ठ, प्रकाश ढकाल तथा सिजपका केन्द्रीय सदस्य केशव पौडेललगायतले डिजिटल वातावरणलाई बालमैत्री र सुरक्षित बनाउन राज्य, परिवार, विद्यालय, सञ्चारमाध्यम तथा समाज सबैको साझा जिम्मेवारी रहेको बताउनुभयो ।
उहाँहरूले सामाजिक सञ्जालको प्रभावकारी नियमन, घरपरिवारमै सचेतना कार्यक्रम सञ्चालन तथा बाल सुरक्षाका सवालमा सञ्चारकर्मी स्वयम् जिम्मेवार र संवेदनशील हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
भ्वाइस अफ चिल्ड्रेनकी कार्यक्रम अधिकृत अप्सरा गुरुङले सञ्चालन गर्नुभएको कार्यक्रममा गण्डकी प्रदेशका विभिन्न सञ्चारमाध्यममा आबद्ध करिब ३० जना सञ्चारकर्मीको सहभागिता रहेको थियो ।