पोखरा । कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले विपद् जोखिम न्यूनीकरण र उद्धार कार्य कुनै एक संस्था वा निकायको मात्र नभई सबैको साझा कर्तव्य भएको बताउनुभएको छ ।
नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखाले आयोजना गरेको विपद् पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी दुईदिने तालिमको समापन कार्यक्रममा बोल्दै उहाँले विपद्का बेला सरकारी निकाय, रेडक्रस तथा अन्य उद्धार संस्थाबिच प्रभावकारी समन्वय आवश्यक रहेको उल्लेख गर्नुभयो ।
स्थानीय तहमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि जनशक्तिलाई दक्ष बनाउने उद्देश्यले आयोजित तालिम २०८३ जेठ ३१ गते सम्पन्न भएको हो ।
उहाँले नेपाल रेडक्रस सोसाइटीले स्थापना कालदेखि नै रक्तसञ्चार सेवा, विपद् व्यवस्थापन, प्राथमिक उपचार तथा सामुदायिक स्वास्थ्यका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको उल्लेख गर्नुभयो ।
प्रजिअ गुरुङले सरकारी निकाय, रेडक्रस तथा अन्य उद्धार संस्थाबिचको समन्वयले मानव जीवनको सुरक्षामा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै दुर्घटना तथा प्राकृतिक विपद्का बेला निःस्वार्थ भावले सेवा प्रदान गर्ने संस्कृतिलाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले निष्ठा, समर्पण र सेवाभावका माध्यमबाट समाजमा मानवीय मूल्य, सहकार्य र सामाजिक उत्तरदायित्वको भावना थप बलियो बनाउन आवश्यक रहेको धारणा राख्नुभयो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखाकी सभापति उर्मिला खड्काले स्वस्थ व्यक्तिले नियमित रूपमा रक्तदान गरी अरूको जीवन बचाउन सक्ने भएकाले रक्तदानलाई सामाजिक संस्कारका रूपमा विकास गर्नुपर्ने बताउनुभयो ।
दुईदिने तालिममा नेपाल रेडक्रस सोसाइटी कास्कीका कोषाध्यक्ष तथा तालिम संयोजक मोहनसिंह खड्का र प्रशिक्षक नवराज भण्डारीले सहजीकरण गर्नुभएको थियो ।
तालिमका क्रममा विपद्का विभिन्न चरण, अपनाउनुपर्ने सावधानी, जोखिम न्यूनीकरणका उपाय तथा समुदायस्तरमा गर्नुपर्ने पूर्वतयारीका कार्यबारे विस्तृत छलफल गरिएको थियो ।
नेपाल रेडक्रस सोसाइटी महानगरपालिका-१७, छोरेपाटन उपशाखाको व्यवस्थापनमा सञ्चालन गरिएको तालिममा कास्की जिल्लाका ४८ उपशाखाका अध्यक्ष तथा सदस्य गरी ७५ जनाको सहभागिता रहेको सदस्य सविता भण्डारी सुवेदीले जानकारी दिनुभयो ।
छोरेपाटन उपशाखाकी सभापति लक्ष्मी अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव चुडामणि बरालले गर्नुभएको थियो भने लैङ्गिक तथा सामाजिक समावेशीकरण समितिकी संयोजक रमा न्यौपाने कोइरालाले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।