मानव आवाज

२०८३ बैशाख १० गते
00: 00: 00
२०८३ बैशाख १० गते

पत्रकार महिलाका लागि डिजिटल साक्षरता तालिम सुरू

पोखरा । पोखरामा पत्रकार महिलाहरूका लागि डिजिटल साक्षरता तालिम सुरू भएको छ । २०७९ सालमा स्थापना भएको प्रेस क्लब गण्डकीको आयोजना तथा पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाको आर्थिक सहयोगमा “पत्रकार महिलाहरूको क्षमता अभिवृद्धि कार्यक्रम तथा डिजिटल साक्षरता तालिम” २०८२ चैत २६ गतेदेखि सञ्चालनमा आएको हो ।

तालिम उद्घाटन सत्रमा प्रमुख अतिथि पोखरा महानगरपालिका कार्यपालिका सदस्य भिमकुमारी पुनले यस्ता कार्यक्रमले सञ्चारकर्मीहरूलाई मानव अधिकार संरक्षण, सामाजिक न्याय प्रवर्धन तथा समुदायस्तरमा सचेतना फैलाउन थप सक्षम बनाउने बताउनुभयो ।

उहाँका अनुसार यस्ता तालिमले समाजमा विद्यमान विभेद र अन्याय न्यूनीकरण गर्दै समानतामूलक वातावरण निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउँछन् ।

उहाँले सत्य, तथ्य र यथार्थमा आधारित समाचार सम्प्रेषणका लागि पनि यस्ता तालिम उपयोगी हुने उल्लेख गर्नुभयो ।

तालिममा प्रेस काउन्सिल सदस्य तथा पत्रकार केशवशरण लामिछानेले “महिला उत्तरदायी सञ्चार निर्देशिका-२०७६” सम्बन्धी विषयमा सहजीकरण गर्नुभयो ।

त्यसैगरी समाधान दैनिकका प्रधान सम्पादक तथा पत्रकार भरत कोईरालाले पत्रकारको भूमिका र मिडिया साक्षरताका विषयमा प्रस्तुति दिनुभयो ।

प्रेस क्लब गण्डकीका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा उपाध्यक्ष राजाराम पौडेलले स्वागत मन्तव्यसहित कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभयो भने कार्यक्रम सञ्चालन सचिव गौरव त्रिपाठीले गर्नुभएको थियो ।

तालिममा विभिन्न सञ्चार गृहमा आबद्ध करिब ४० जना महिला सञ्चारकर्मीहरूको सहभागिता रहेको छ ।

Author

Related News