पोखरा । राष्ट्रिय मानवअधिकार तथा सामाजिक न्याय मञ्च, नेपाल (मानव अधिकार एलायन्स) गण्डकी प्रदेश समिति र कास्की जिल्ला शाखाको संयुक्त आयोजनामा २७औँ स्थापना दिवसको अवसरमा ‘वर्तमान अवस्थामा मानव अधिकारको अवस्था’ विषयक अन्तरसंवाद कार्यक्रम २०८३ असार २९ गते पोखरास्थित गैरसरकारी संस्था महासङ्घको नागरिक स्रोत केन्द्रमा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश नीति तथा योजना आयोगका पूर्व उपाध्यक्ष तथा प्राध्यापक डा. श्रीकान्त शर्मा खतिवडाले मानवअधिकारको संरक्षण, प्रवर्धन र प्रभावकारी कार्यान्वयनका लागि राज्य, नागरिक समाज तथा सरोकारवाला निकायबिच सुदृढ सहकार्य आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा अधिवक्ता कमलप्रसाद अर्यालले ‘मानवअधिकार र वर्तमान अवस्था’ विषयमा अवधारणापत्र प्रस्तुत गर्दै नेपालको संवैधानिक व्यवस्था, मानव अधिकारको वर्तमान अभ्यास तथा कार्यान्वयनमा देखिएका चुनौतीबारे प्रकाश पार्नुभएको थियो ।
अन्तरसंवादमा सहभागीहरूले मानवअधिकारको संवैधानिक सुनिश्चितता, यसको व्यवहारिक कार्यान्वयन, नागरिक अधिकारको संरक्षण तथा राज्यका निकायहरूको जवाफदेहिता अभिवृद्धि गर्न आवश्यक कदमबारे धारणा राखेका थिए ।
मानव अधिकार एलायन्स गण्डकी प्रदेशका अध्यक्ष डा. बुद्धिबहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कास्की शाखाका सचिव रमेश सुबेदीले गर्नुभएको थियो ।
कार्यक्रममा मानवअधिकारकर्मी, सामाजिक अभियन्ता तथा विभिन्न क्षेत्रका सरोकारवालाको सहभागिता रहेको थियो ।