महांकाल गाउँपालिका–६, ठुलादुर्लुङको दुर्लुङटार गाउँको बिहान अरू गाउँजस्तै शान्त हुँदैन । त्यहाँ बिहानको सन्नाटा चिर्दै टङ्टङ्को आवाज आउँछ–फलाम पिटेको आवाज । त्यो आवाजसँगै जोडिएको छ एउटा कथा, मेहनत, परिवर्तन र आशाको कथा । त्यही गाउँका हुनुहुन्छ रमेशबहादुर बिक । उहाँका हातहरू काला छन्, तर ती हातहरूले जीवन उज्यालो बनाएको छ–काम यान्त्रिक भएपछिको सहजताले । यस्तै कहानी छ कोञ्ज्योसोम गाउँपालिका–२, शङ्खुका सिताराम विकको पनि ।
एक समय थियो, रमेश र सितारामको काम ‘हात्ते खलाँती’मै सीमित थियो । आगो बाल्ने, फलाम तताउने र त्यसलाई आकार दिने–सबै काम हातैले । तर, सबैभन्दा गाह्रो काम थियो आगो बलिराख्न । ‘सास खुस्किञ्जेल फुक्नु पथ्र्यो ।’–उहाँहरू सम्झनुहुन्छ । दिनभरि फुक्दा फुक्दा थकानले शरीर चिसिन्थ्यो, तर आगो भने कहिलेकाहीँ अझै नबल्ने । काम ढिलो हुन्थ्यो, आम्दानी कम । शरीरमा परेको बोझले कहिलेकाहीँ काम नै छोडौँ कि भन्ने लाग्थ्यो । तर, गाउँमा बत्ति आयो–त्यससँगै रमेश, सिताराम र उहाँहरू जस्तै आरनमा काम गर्ने दक्षिण ललितपुरका विश्वकर्माहरूको जीवनमा पनि नयाँ मोड आयो ।
अहिले उहाँहरूले सानो कुलर (ब्लोअर) जोडेर आरन चलाउन थाल्नु भएको छ । अब आगो फुक्नुपर्दैन । एउटा स्विच थिचेपछि आगो दन्किन्छ । फलाम छिट्टै रातो हुन्छ र काम छिटो सकिन्छ । ‘बत्ति आएपछि निकै सजिलो भएको छ ।’–रमेश मुस्कुराउँदै भन्नुहुन्छ । पहिले दिनभरि लाग्ने काम अहिले आधा समयमा सकिन्छ । शरीरको थकान पनि धेरै घटेको छ । सास फेर्नै गाह्रो हुने अवस्था अब सम्झनामा मात्रै बाँकी छ । ‘काम गर्न पनि सजिलो भएको छ, शारीरिक परिश्रम पनि घटेको छ ।’ सिताराम भन्नुहुन्छ–‘समय पनि बचत हुँदोरहेछ ।’


अझ रमाइलो कुरा त के भने–उहाँहरूले सोचेभन्दा बत्तिको बिल कमै आउँछ । ‘बत्तिको बिल पनि धेरै उठेको छैन ।’–रमेश ढुक्क हुँदै भन्नुहुन्छ । अहिले रमेश बिहानदेखि बेलुकीसम्म निरन्तर काम गर्न सक्नुहुन्छ । गाउँलेहरू पनि खुसी छन्–फलामसम्बन्धी कामका लागि टाढा जानुपर्दैन । खलाँतीबाट सुरु भएको उहाँको यात्रा अहिले आधुनिक आरनसम्म आइपुगेको छ । यो केवल प्रविधिको कथा होइन, यो एउटा मान्छेको सङ्घर्ष, समयसँगै बदलिँदो जीवन र सानो परिवर्तनले ल्याएको ठूलो सहजताको कथा हो । रमेशबहादुरका हात अझै कालै छन्, तर अब ती हातमा थकानभन्दा बढी आत्मविश्वास छ ।