मानव आवाज

२०८३ बैशाख १६ गते
00: 00: 00
२०८३ बैशाख १६ गते

मादलको स्वरूपमा ‘मादल घर’ निर्माण, पर्यटक प्रवर्धनको अपेक्षा

रुद्रबहादुर खड्का, सिन्धुली ।

सिन्धुलीको कमलामाई नगरपालिका-३, चपौलीस्थित राष्ट्रिय कलासङ्ग्रहालय सिन्धुली कलाघर परिसरमा मादल आकारको आकर्षक ‘मादल घर’ निर्माण सम्पन्न भएको छ ।

नेपाली मौलिक कला, संस्कृति र पहिचान संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यले निर्माण गरिएको उक्त संरचनाले जिल्लामा नयाँ सांस्कृतिक गन्तव्यको रूपमा पहिचान बनाउने अपेक्षा गरिएको छ ।

३२ फिट उचाइ र ८० फिट लम्बाइमा फैलिएको मादल घर नेपाली लोकबाजा ‘मादल’ को स्वरूपमा डिजाइन गरिएको छ ।

परम्परागत कला र आधुनिक निर्माण शैलीको संयोजनमा तयार पारिएको यस भवनले सांस्कृतिक सौन्दर्य मात्र होइन, पर्यटन प्रवर्धनमा समेत महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

भवनको पहिलो तलामा १० भन्दा बढी जातजातिका मौलिक पोशाक, परम्परागत लोकबाजा तथा सांस्कृतिक सामग्रीहरू राखिएका छन् ।

विभिन्न समुदायको पहिचान झल्कने यस्ता सामग्रीले आन्तरिक तथा बाह्य पर्यटकका लागि अध्ययन, अनुसन्धान र अवलोकनको केन्द्रका रूपमा विकास हुने सम्भावना देखिएको छ ।

त्यसैगरी, भवनको माथिल्लो तलामा परम्परागत ‘रोदी घर’ को स्वरूपमा सांस्कृतिक हल निर्माण गरिएको छ ।

उक्त हलमा सभा, गोष्ठी, सांस्कृतिक कार्यक्रम तथा कला प्रदर्शनी सञ्चालन गर्न सकिने व्यवस्था मिलाइएको छ । यो हलमा करिब २ सय जना अट्ने क्षमता रहेको छ ।

मादल घर निर्माणका लागि गत आर्थिक वर्षमा कमलामाई नगरपालिकाले १५ लाख रुपियाँ बजेट विनियोजन गरेको थियो भने चालु आर्थिक वर्षमा थप १५ लाख रुपियाँ उपलब्ध गराइएपछि निर्माण कार्यले तीव्रता पाएको हो ।

नगरपालिकाको सहयोगसँगै अन्य स्थानीय तह तथा कलाघरको संयुक्त लगानीमा संरचना सम्पन्न गरिएको जनाइएको छ ।

नयाँ वर्षको अवसर पारेर आयोजना गरिएको कला महोत्सवसँगै उद्घाटन गरिएको मादल घरलाई दीर्घकालीन रूपमा सांस्कृतिक धरोहरका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ ।

स्थानीय कला, संस्कृति र मौलिक परम्परालाई एउटै स्थानमा संरक्षण तथा प्रदर्शन गर्ने उद्देश्यले निर्माण गरिएको यस संरचनाले सिन्धुलीको सांस्कृतिक पहिचानलाई थप मजबुत बनाउने विश्वास गरिएको छ ।

कमलामाई नगरपालिकाका नगरप्रमुख उपेन्द्रकुमार पोखरेलले मादल घर निर्माणसँगै कलाघरको आकर्षण अझ विस्तार भएको बताउँदै स्थानीय कला र संस्कृतिको संरक्षणमा यसले महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गर्नुभयो ।

उहाँका अनुसार यस्ता पहलहरूले युवा पुस्तालाई मौलिक बाजागाजाप्रति आकर्षित गराउनुका साथै पर्यटनमार्फत स्थानीय आर्थिक गतिविधि समेत चलायमान बनाउन सहयोग पुर्‍याउनेछन् ।

स्थानीय तहमा कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धनका लागि मादल घर जस्ता संरचनाहरू प्रभावकारी माध्यम बन्ने अपेक्षा गरिएको छ ।

नेपाली मौलिक बाजागाजा र सांस्कृतिक परम्पराले समाजको पहिचान र एकताको प्रतीकका रूपमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन् ।

Author

Related News