मानव आवाज

२०८३ बैशाख १८ गते
00: 00: 00
२०८३ बैशाख १८ गते

आज २५७०औँ बुद्धजयन्ती, देश तथा विदेशमा धार्मिक कार्यक्रम

काठमाडौँ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व २०८३ वैशाख १८ देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ ।

भगवान् गौतम बुद्धको २५७०औँ जयन्तीका अवसरमा शान्तिको कामना गर्दै विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिएका छन् ।

बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण तीनै घटना वैशाख शुक्ल पूर्णिमामै परेकाले यस दिन विशेष महत्त्वका साथ मनाइन्छ ।

नेपाललगायत विश्वभरका बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा र विहारहरूमा पूजाआजा, ध्यान र प्रवचन कार्यक्रम गर्दै बुद्धप्रति श्रद्धा अर्पण गर्ने परम्परा छ ।

इतिहासअनुसार, ईशापूर्व ५६३ मा कपिलवस्तुस्थित लुम्बिनीमा राजा शुद्धोधन र रानी मायादेवीको पुत्रका रूपमा सिद्धार्थ गौतमको जन्म भएको थियो ।

मानव दुःखबाट व्यथित भई उहाँ २९ वर्षको उमेरमा दरबार त्याग गरी सत्यको खोजीमा लाग्नुभएको थियो । पछि बोधगयामा बोधिवृक्ष मुनि तपस्या गरी बुद्धत्व प्राप्त गर्नुभएको थियो ।

बुद्धले जीवनका दुःखको कारण तृष्णा भएको र यसको अन्त्यका लागि निर्वाण प्राप्त गर्नुपर्ने शिक्षा दिनुभएको छ ।

बुद्धका शान्ति, करुणा र प्रज्ञाका सन्देशका कारण उहाँलाई ‘एसियाका तारा’का रूपमा सम्मान गरिन्छ । हिन्दू धर्ममा समेत बुद्धलाई भगवान् विष्णुको नवौँ अवतार मानिने भएकाले हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले यस पर्व मनाउने गर्दछन् ।

नेपालमा विसं २००८ देखि बुद्ध जयन्तीका दिन सार्वजनिक बिदा दिइँदै आएको छ भने संयुक्त राष्ट्रसङ्घले सन् २००२ देखि यस दिनलाई अन्तर्राष्ट्रिय रूपमा मान्यता दिँदै आएको छ ।

आज ललितपुरको कोञ्ज्योसोम, माझखण्ड र बतासे, उपत्यकाभित्रका विहार तथा गुम्बाहरूसँगै गाउँबस्तीमासमेत विविध कार्यक्रम गरी बुद्ध जयन्ती मनाइँदैछ ।

Author

Share the News

Recent News

Related News