काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सरकारका पछिल्ला गतिविधिहरूलाई अपरिपक्व र पूर्वाग्रहयुक्त भएको निष्कर्ष निकालेको छ ।
केन्द्रीय कार्य संयोजन समितिको बैठकले समसामयिक विषयमा १९ बुँदे प्रस्ताव पारित गर्दै कार्की आयोगको प्रतिवेदन असन्तुलित र आग्रहयुक्त देखिएको पनि जनाएको छ ।
गएको भदौ २४ गते भएको विध्वंसकारी घटनाको पूर्ण र निष्पक्ष छानबिन नभएको भन्दै उक्त घटनाको थप छानबिन गरी दोषीमाथि बिना पूर्वाग्रह कारबाही गर्न माग गरिएको छ ।
बैठकले सुकुम्वासी बस्ती हटाउने क्रममा सरकारको कदमको आलोचना गर्दै वैकल्पिक आवासको व्यवस्था नगरी गरिएको हटाउने कार्यले हजारौँ अशक्त, बालबालिका, वृद्ध तथा विपन्न नागरिकलाई प्रभावित बनाएको उल्लेख गरेको छ ।
नेकपाले विस्थापित सुकुम्वासीहरू जीविकोपार्जन, स्वास्थ्य जोखिम र विपद्को समस्यामा परेको भन्दै संविधानले सुनिश्चित गरेको आवासको हक कार्यान्वयन गर्न र दीर्घकालीन समाधान खोज्न सरकारसँग आग्रह गरेको छ ।
त्यसैगरी, सुशासनको नाममा भइरहेका धरपकड र कारबाहीहरू कानुनसम्मत, निष्पक्ष र पारदर्शी हुनुपर्नेमा जोड दिँदै हालका कदमहरू अपरिपक्व र पूर्वाग्रहयुक्त रहेको टिप्पणी गरिएको छ ।
पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै दैनिक उपभोग्य वस्तुहरूको मूल्यमा भएको अत्यधिक वृद्धिप्रति चिन्ता व्यक्त गर्दै मूल्य नियन्त्रण, कालोबजारी रोकथाम र आपूर्ति प्रणाली सहज बनाउन पनि सरकारलाई आग्रह गरिएको छ ।