पोखरा । सुर्तिजन्य पदार्थको प्रयोग न्यूनीकरण गर्दै स्वस्थ समाज निर्माण गर्न व्यक्ति, परिवार, समुदाय र राज्य सबै पक्षको साझा जिम्मेवारी आवश्यक रहेको पोखरामा आयोजित एक कार्यक्रमका वक्ताहरूले बताएका छन् ।
पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाअन्तर्गत शहरी स्वास्थ्य प्रवर्धन केन्द्र-१७ को आयोजनामा २०८३ असार २ गते धुम्रपान तथा सुर्तिजन्य पदार्थ नियमन तथा न्यूनीकरणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि तथा वडा नम्बर १७ की अध्यक्ष राधिका शाहीले सुर्तिजन्य पदार्थको प्रयोग नियन्त्रण गर्न करको दर वृद्धि गरी यसको पहुँच सीमित बनाउनुपर्ने बताउनुभयो ।
उहाँले सार्वजनिक स्थल, विद्यालय, कलेज, होटल तथा रेष्टुरेन्ट क्षेत्रमा सचेतनामूलक स्टिकर र होर्डिङ बोर्ड राखी जनचेतना फैलाउनुपर्नेमा जोड दिनुभयो ।
शाहीले सुर्तिजन्य पदार्थको बिक्री वितरणमा संलग्न व्यक्ति तथा व्यवसायमाथि प्रभावकारी अनुगमन गर्न स्थानीय तहले विशेष समिति गठन गरी अनुमतिबिनाको बिक्री रोक्नुपर्ने बताउनुभयो ।
नियम उल्लङ्घन गर्नेलाई कानुनबमोजिम जरिबाना तथा कारबाहीको दायरामा ल्याउनुपर्ने उहाँको भनाइ थियो ।
शहरी स्वास्थ्य प्रवर्धन केन्द्र-१७ की प्रमुख हेलन पन्तले धुम्रपान तथा सुर्तिजन्य पदार्थका स्वास्थ्यगत असर र नियन्त्रणका उपायबारे सहजीकरण गर्नुभएको थियो ।
उहाँले सार्वजनिक स्थल, सरकारी कार्यालय, शिक्षण संस्था तथा स्वास्थ्य संस्थाको १ सय मिटर क्षेत्रभित्र सुर्तिजन्य पदार्थको बिक्री वितरणमा पूर्ण प्रतिबन्ध लागू गर्नुपर्ने बताउनुभयो ।
पन्तले १८ वर्षमुनिका बालबालिकालाई सुर्तिजन्य पदार्थ बिक्री गर्न नपाइने कानुनी व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले सुर्तिजन्य पदार्थ न्यूनीकरणको अभियान कुनै एक निकायले मात्र सफल बनाउन नसक्ने भएकाले सबै पक्षको सामूहिक प्रयास आवश्यक रहेको उल्लेख गर्नुभयो ।
छोरेपाटन प्रहरी चौकीमा इन्चार्ज गौतम श्रेष्ठले मिडियाको प्रयोग रेडियो, टेलिभिजन, सामाजिक सञ्जाल र पर्चा-पम्पलेटमार्फत सुर्तिजन्य पदार्थको लतबाट बच्न र छोड्न प्रोत्साहन गर्ने सन्देश मूलक कार्यक्रम प्रभावकारी ढंगले घरपरिवार र समुदाय स्तरमै गर्नु पर्ने भनाइ राख्नुभयो ।
डेभिडफल युवा क्लबका अध्यक्ष दिपक सुवेदीले जनचेतनामूलक कार्यक्रम विद्यालय तथा समुदाय स्तर स्कुल, कलेज र स्थानीय समुदायमा सुर्तिजन्य पदार्थका हानिकारक असर (क्यान्सर, हृदयघात, फोक्सोसम्बन्धी रोग आदि) बारे अन्तर्क्रियात्मक कक्षाहरू निरन्तर सञ्चालन गर्नु पर्नेमा जोड दिनु भयो ।
पोखरा -१७ का वडा सदस्य तारा परियारको अध्यक्षतामा वडा सदस्य बिष्णुकुमारी थापाले स्वागत एवम् कार्यक्रमको उदेश्यमाथि प्रकाश पार्नु भएको थियो भने कार्यक्रमको सञ्चालन स्वास्थ्य केन्द्र- १७ का अहेव ज्योति ढकालले गर्नु भएको थियोे ।
कार्यक्रममा स्थानीय नागरिक, स्वमसेविका, सरोकारवाला निकाय, नागरिक समाजका पदाधिकारीहरूको सहभागीता रहेको थियोे ।