पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकालाई मानवअधिकारमैत्री, सभ्य र समृद्ध स्थानीय तहका रूपमा विकास गर्न जनप्रतिनिधि, कर्मचारी, मानवअधिकारकर्मी तथा नागरिक समाजका प्रतिनिधिहरूले सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन् ।
माछापुच्छ्रे गाउँपालिका र मानव अधिकार समूह माछापुच्छ्रेको समन्वयमा २०८३ जेठ २५ र २६ गते गाउँपालिकाको सभाहल लाहाचोकमा आयोजित दुई दिने ‘मानवअधिकार प्रवर्धन कार्यक्रम’मा सहभागीहरूले भौतिक पूर्वाधारको विकाससँगै मानवीय चेतना, सामाजिक उत्तरदायित्व र मानव संसाधन विकासलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका हुन् ।
कार्यक्रममा घरेलु हिंसा, बालविवाह, बोक्सी प्रथा, जातीय विभेद लगायतका सामाजिक विकृति र कुरीतिहरूको अन्त्यका लागि सबै पक्षले आत्मसमीक्षा गर्दै सक्रिय भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता औँल्याइएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि एवं मिनबहादुर गुरुङले नागरिक सचेतना अभिवृद्धि बिना समृद्ध समाज निर्माण सम्भव नहुने बताउनुभयो ।
उहाँले नागरिकका हकअधिकारको संरक्षण तथा समृद्धिको यात्रामा गाउँपालिका सधैँ प्रतिबद्ध रहने उल्लेख गर्नुभयो ।
गाउँपालिकाकी उपाध्यक्ष सीता अधिकारीले मानवअधिकारको अभ्यास आफ्नै घर र परिवारबाट सुरु हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।
उहाँले समाजमा अझै पनि बालविवाह, घरेलु हिंसा र बोक्सी प्रथाजस्ता कुरीतिहरू विद्यमान रहनु चिन्ताजनक रहेको बताउँदै अन्याय सहेर बस्नु पनि गलत प्रवृत्ति भएको उल्लेख गर्नुभयो ।
मुख्य प्रशिक्षक तथा गणेश भण्डारीले नेपालमा मानव अधिकार संरक्षण र सचेतना अभिवृद्धिका लागि इन्सेकले स्थापना कालदेखि निर्वाह गर्दै आएको भूमिकाबारे जानकारी दिनुभयो ।
उहाँले ‘नेपाल मानवअधिकार वर्ष पुस्तक’ मानव अधिकार उल्लङ्घनका घटनाहरूको अभिलेखीकरण तथा न्यूनीकरणका लागि महत्वपूर्ण दस्तावेज बनेको बताउनुभयो ।
त्यसैगरी, विना सिलवालले लैङ्गिक विभेद, महिला हिंसा तथा बालअधिकारसँग सम्बन्धित विषयमा प्रशिक्षण दिँदै समाजमा भइरहेका बलात्कार, घरेलु हिंसा र मानसिक उत्पीडनका घटनाले सामाजिक संरचनामै नकारात्मक असर पारिरहेको बताउनुभयो ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव सुवेदीले मानवअधिकार नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्धित विषय भएको उल्लेख गर्दै यस्ता कार्यक्रमले मानवअधिकार उल्लङ्घनका घटनाहरू न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
सामाजिक विकास शाखा प्रमुख ज्योति पौडेलले पालिकाभित्र आत्महत्या, बालविवाह तथा घरेलु हिंसाका घटना चुनौतीका रूपमा रहेको उल्लेख गर्दै ती समस्यालाई लुकाउने होइन, समाधानका लागि सामूहिक पहल आवश्यक रहेको बताउनुभयो ।
मानवअधिकार समूहका संयोजक कुलप्रसाद अधिकारीले गाउँपालिकाका अधिकांश वडामा मानवअधिकार समूह गठन भइसकेको जानकारी दिँदै समूहले दबाबमूलकभन्दा पनि सहकार्य र समन्वयकारी भूमिका निर्वाह गर्ने बताउनुभयो ।
उहाँले स्वास्थ्य चौकीमा उपलब्ध निःशुल्क औषधिको जानकारी नागरिकसम्म प्रभावकारी रूपमा पुर्याउनुपर्ने तथा स्वच्छ वातावरणमा बाँच्न पाउने नागरिकअधिकार सुनिश्चित गरिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा मानव अधिकार समूहका पूर्व संयोजक डिल्लीराम भण्डारीले आगामी वर्ष मानवअधिकार प्रवर्धनका कार्यक्रमका लागि थप बजेट विनियोजन हुने अपेक्षा व्यक्त गर्नुभयो ।
मधु पहारीले घरेलु हिंसा तथा बलात्कार पीडितहरूको अवस्था र उपलब्ध सेवाबारे जानकारी दिनुभयो भने अधिवक्ता सरिता तिमल्सिना पङ्गेनीले महिला अधिकार, लैङ्गिक विभेद तथा कानुनी व्यवस्थाबारे प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा वडा नं. ४ का अध्यक्ष मधुसूदन अधिकारी, वडा नं. ५ का अध्यक्ष नारायण पौडेल, शिक्षा तथा खेलकुद शाखा प्रमुख सम्झना पौडेल तथा बालअधिकार फोकल पर्सन सुष्मा अधिकारीले मानवअधिकार प्रवर्धन कार्यक्रमका उपलब्धि र आगामी कार्ययोजनाबारे आ-आफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।