पोखरा । शान्तिका लागि नागरिक समाजको सञ्जाल, पोखराले जिल्लामा देखिएका समसामयिक सामाजिक समस्या, बजार व्यवस्थापन तथा नागरिक सेवासम्बन्धी विषयमा ध्यानाकर्षण गराउँदै २०८३ साउन २० गते कास्कीका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरुङलाई ध्यानाकर्षणपत्र बुझाएको छ ।
सञ्जालका संयोजक सोमबहादुर श्रेष्ठको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी गुरुङ, सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बराल तथा सशस्त्र प्रहरी बल कालिका गणका प्रमुख एसपी बसन्तबहादुर सिंहसँग भेट गरी जिल्लाका विभिन्न समसामयिक विषयमा छलफल गरेको थियो ।
ध्यानाकर्षणपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गुरुङले नागरिक समाजले उठाएका विषय संवेदनशील र जायज रहेको बताउँदै बजार अनुगमनलाई प्रभावकारी बनाउने, नागरिकलाई सहज सेवा उपलब्ध गराउने तथा आवश्यक समन्वय र पहल गर्ने प्रतिबद्धता जनाउनुभयो ।
सञ्जालले एलपी ग्यासको अनियमित आपूर्ति, कालोबजारी तथा तौलमा हुने ठगी नियन्त्रण गर्न माग गरेको छ ।
साथै, अध्ययन र रोजगारीका लागि पोखरा आउने दलित समुदायका विद्यार्थी तथा नागरिकले भोग्दै आएको जातीय विभेद र कोठा भाडामा हुने कठिनाइ अन्त्य गर्न कानुनी कारबाही र जनचेतनामूलक अभियान सञ्चालन गर्न आग्रह गरेको छ ।
ध्यानाकर्षणपत्रमा लागूऔषध दुर्व्यसन, साइबर अपराध, लैङ्गिक हिंसा, मानसिक स्वास्थ्य, युवाका लागि सीप विकास तथा उद्यमशीलता प्रवर्धन, नागरिक गुनासोको छिटो सुनुवाइ हुने पारदर्शी प्रणाली र वर्षायाममा हुने विपद् जोखिम व्यवस्थापनलाई एकीकृत रूपमा सम्बोधन गर्न पनि माग गरिएको छ ।
त्यस्तै, चाडपर्व नजिकिँदै गर्दा बजारमा कृत्रिम अभाव र महङ्गी नियन्त्रण गर्न तथा सुत्केरी, गर्भवती र ज्येष्ठ नागरिकलाई अत्यावश्यक सेवामा प्राथमिकता दिन प्रशासनसँग आग्रह गरिएको छ ।
छलफलका क्रममा सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले आवश्यकता भन्दा बढी ग्यास भण्डारण गर्ने प्रवृत्तिका कारण डिलरहरूमा लाइन बढेको बताउनुभयो ।
उहाँका अनुसार हाल ग्यासको आपूर्ति अघिल्लो समयको तुलनामा सहज रहेको छ । साथै, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, सुत्केरी र गर्भवतीले लाइनमा बस्न नपर्ने व्यवस्था गरिएको जानकारी दिनुभयो ।
सशस्त्र प्रहरी बल कालिका गणका प्रमुख एसपी बसन्तबहादुर सिंहले विपद् व्यवस्थापन तथा उद्धार कार्यमा सशस्त्र प्रहरी प्रशासनसँग समन्वय गर्दै सक्रिय रूपमा परिचालन भइरहेको बताउनुभयो ।