पोखरा । नागरिक मञ्च, गण्डकी प्रदेशले सुनसरीको देवानगञ्ज गाउँपालिकामा हिन्दु र मुस्लिम समुदायबिच उत्पन्न असमझदारीका कारण भएको विवादमा एक जना नागरिकको मृत्यु भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
बुधबार जारी प्रेस विज्ञप्तिमार्फत मञ्चले घटनामा ज्यान गुमाएका नागरिकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ । साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।
विज्ञप्तिमा नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषतायुक्त राष्ट्र भएको उल्लेख गर्दै नेपाली समाज आपसी समझदारी, विश्वास, सहकार्य, सहिष्णुता र सद्भावका आधारमा विकसित हुँदै आएको जनाइएको छ ।
विगतमा समुदायबिच देखिएका मतभेद र विवाद पनि संवाद, संयमता तथा आपसी समझदारीबाट समाधान हुँदै आएको स्मरण गराइएको छ ।
नागरिक मञ्चले यस्ता संवेदनशील घटनालाई राजनीतिक स्वार्थका लागि प्रयोग गर्ने, सामाजिक तथा धार्मिक सद्भावमा खलल पुग्ने गरी भ्रम फैलाउने, घटनालाई तोडमोड गरेर प्रस्तुत गर्ने तथा साम्प्रदायिक द्वेष बढाउने गतिविधि समाज र राष्ट्रका लागि हानिकारक हुने उल्लेख गरेको छ ।
सबै पक्षलाई संयमित रहन, अपुष्ट सूचना र भ्रामक प्रचारप्रसार नगर्न तथा सामाजिक सद्भाव कायम राख्न आग्रह गरिएको छ ।
मञ्चले घटनाको निष्पक्ष, पारदर्शी र शीघ्र अनुसन्धान गरी दोषीलाई कानुनबमोजिम कारबाही गर्न, पीडित परिवारलाई न्याय सुनिश्चित गर्न तथा भविष्यमा यस्ता घटना दोहोरिन नदिन सबै समुदायबिच आपसी विश्वास, सहिष्णुता र सद्भाव अभिवृद्धिका लागि प्रभावकारी पहल गर्न नेपाल सरकार तथा सम्बन्धित निकायसँग जोडदार माग गरेको छ ।
विज्ञप्तिमा शान्ति, सामाजिक सद्भाव, कानुनी शासन र राष्ट्रिय एकता नै समुन्नत नेपालको आधार भएको उल्लेख गर्दै सबै नागरिकलाई सामाजिक एकता कायम राख्न पुनः हार्दिक अनुरोध गरिएको छ ।
नागरिक मञ्च, गण्डकी प्रदेशका संयोजक विष्णुप्रसाद बराल, नागरिक समाजका प्रतिनिधि टङ्कप्रसाद चापागाईं, इन्सेक गण्डकी प्रदेश संयोजक गणेश भण्डारी, अधिकारकर्मी केशु भुजेल तथा अधिकारकर्मी एवम् पत्रकार मधु पन्थीले उक्त विज्ञप्तिमा हस्ताक्षर गर्नुभएको छ ।
