पोखरा । “औषधीको सही सदुपयोग गरौं, प्रतिकूल असरबाट बचौं” भन्ने नारासहित स्थापना भएको नेपाल औषधी व्यवसायी सङ्घ कास्की शाखाद्वारा नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना आदानप्रदान, भित्ते पात्रो विमोचन तथा पदाधिकारीबिच अन्तरसम्वाद कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम २०८२ चैत २३ गते पोखरा महानगरपालिका-१७ बिरौटास्थित संघको कार्यालयमा आयोजना गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल औषधी व्यवसायी सङ्घ गण्डकी प्रदेशका अध्यक्ष केशरीप्रसाद तिवारीले औषधी व्यवसायीहरूलाई व्यावसायिक आचरणमा रहन, गुणस्तर कायम गर्न तथा जनताको स्वास्थ्य अधिकार सुरक्षित राख्दै कानुनसम्मत रूपमा व्यवसाय सञ्चालन गर्न आग्रह गर्नुभयो ।
उहाँले व्यवसायको आत्म अनुगमनबाटै सुधारको सुरुवात गर्नुपर्नेमा जोड दिँदै दर्ता तथा नवीकरण नगरी सञ्चालनमा रहेका व्यवसायहरूलाई कानुनी दायरामा ल्याउन आवश्यक रहेको बताउनुभयो ।
तोकिएको मापदण्ड पालना गर्ने, निर्धारित शुल्कभन्दा बढी नलिने, अनिवार्य बिल जारी गर्ने तथा समयमै दर्ता/नवीकरण गर्ने विषयमा व्यवसायीहरूलाई तिवारीले सचेत गराउनुभयो ।
गण्डकी प्रदेशका संस्थापक अध्यक्ष कृष्णप्रसाद पाण्डेले व्यवसायीहरू राज्यका सहयात्री भएकाले अधिकारसँगै कर्तव्यबोध पनि आवश्यक रहेको उल्लेख गर्नुभयो ।
स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा काम गर्दा कानुनी पक्षको गहिरो अध्ययन गर्दै राज्यलाई सकारात्मक खबरदारी गर्नुपर्ने उहाँको भनाइ थियो ।
सङ्घ कास्कीका अध्यक्ष धिरज गौतमले औषधी व्यवसाय अत्यन्त संवेदनशील क्षेत्र भएकाले यसमा संलग्न व्यवसायीहरूले स्वच्छ, व्यवस्थित र मर्यादित रूपमा सेवा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँका अनुसार सङ्घले भित्ते पात्रो प्रकाशन तथा वितरण, वार्षिक उत्सव, रक्तदान कार्यक्रम, व्यवसायीहरूको हकहित संरक्षण तथा विभिन्न तालिम र प्रवर्द्धनात्मक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।
महासचिव सञ्जीव देवकोटाले पेशागत मर्यादामा रही व्यवसायसँगै मानवीय सेवामा प्रतिबद्ध रहनुपर्ने जानकारी दिनुभयो ।
सङ्घका कास्की संस्थापक अध्यक्ष विक्रम पन्तले प्रविधिसँग अद्यावधिक हुँदै दक्षता अभिवृद्धिमा जोड दिन व्यवसायीहरूलाई आग्रह गर्नुभयो ।
कार्यक्रम सङ्घका अध्यक्ष धिरज गौतमको अध्यक्षतामा सम्पन्न भएको थियो। स्वागत मन्तव्य वरिष्ठ उपाध्यक्ष सन्तोष पराजुलीले राख्नुभएको थियो भने सञ्चालन सदस्य शिव शर्माले गर्नुभएको थियो ।
कार्यक्रममा गण्डकी प्रदेश तथा जिल्ला अन्तर्गतका औषधी व्यवसायी र पदाधिकारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रमको अन्त्यमा सहभागीहरूबिच नयाँ वर्षको शुभकामना आदानप्रदान गरिएको थियो ।