पोखरा । बुद्ध विशाल बजार व्यापारिक एशोसियसन र पोखरा महानगरपालिका-४ को संयुक्त आयोजनामा “व्यवसायीका समस्या समाधान तथा कर अभिलेखिकरण” विषयक अन्तरक्रिया कार्यक्रम २०८३ साल वैशाख १३ गते एशोसियसनको सभा कक्षमा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि तथा पोखरा महानगरपालिका-४ का वडाअध्यक्ष देवकृष्ण पराजुलीले आफ्नो वडाभित्रका व्यवसायीलाई सहजीकरण गर्दै उनीहरूका विविध समस्याहरू समाधान गर्न आफू सकारात्मक रूपमा लागिरहेको बताउनुभयो ।
उहाँले महानगरपालिकाले २०८३ वैशाख १२ गतेदेखि वैशाख १९ गतेसम्म प्रत्येक वडामा साताव्यापी अभिलेखिकरण शिविर सञ्चालन गरिरहेको जानकारी दिँदै यस अवधिमा घरबहाल कर, व्यवसाय दर्ता तथा नवीकरण कर लगायतका विषयमा अभिलेख राखिने भएकाले व्यवसायीहरूलाई यस अवसरको सदुपयोग गर्न आग्रह गर्नुभयो ।
वडाअध्यक्ष पराजुलीले राज्यले वडा कार्यालयलाई प्रदान गरेको अधिकारको सदुपयोग गर्दै घरबहाल कर, व्यवसाय कर लगायत अन्य समस्याहरू समाधान गर्न आफू प्रतिबद्ध रहेको पनि स्पष्ट पार्नुभयो ।
एशोसियसनका मानार्थ सदस्य तथा सल्लाहकार केशवबहादुर खत्रीले व्यवसायीहरू राज्यका नीतिनियम पालना गर्न तयार रहेको उल्लेख गर्दै कर तिर्न जाँदा सम्बन्धित निकायमा सहज वातावरण हुनुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै, एशोसियसनका सल्लाहकार तथा पूर्व अध्यक्ष माधव सिग्देलले वर्तमान आर्थिक मन्दीका कारण व्यवसायीहरू कठिन अवस्थामा रहेको उल्लेख गर्दै बाध्यात्मक परिस्थिति सिर्जना नगर्न वडा कार्यालयलाई आग्रह गर्नुभयो ।
एशोसियसनका अध्यक्ष बुद्धि बहादुर कुवँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष मनोहरि पौडेलले राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन महासचिव थमन सिंह गुरुङले गर्नुभएको थियो ।
कार्यक्रममा एशोसियसनका पदाधिकारी, उपसमितिका सदस्य तथा सल्लाहकारहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।