पोखरा । “व्यवसायिक हित र सामाजिक सेवामा समर्पित उत्कृष्ट संस्था” भन्ने नारालाई आत्मसात् गर्दै कपडा व्यवसायी एसोसिएसन कास्कीले आफ्नो ३० औँ स्थापना दिवसको अवसरमा नयाँ वर्ष २०८३ को शुभकामना आदान–प्रदान तथा टेबल क्यालेन्डर विमोचन कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रम २०८२ चैत २४ गते पोखरा महानगरपालिका-४ बास्तोलाथरमा आयोजना गरिएको थियो । कार्यक्रमकी प्रमुख अतिथि गण्डकी प्रदेशकी प्रेस रजिस्ट्रार विमला भण्डारीले व्यवसायिक एकता अहिलेको प्रमुख आवश्यकता भएको बताउनुभयो ।
उहाँले कुनै पनि व्यवसाय व्यक्तिगतभन्दा सामूहिक प्रयासबाट मात्र सफल हुने उल्लेख गर्दै एसोसिएसनलाई समाजको ऐनाका रूपमा चित्रण गर्नुभयो ।
उहाँले संस्थाहरूले विकृति र विसंगतिविरुद्ध आवाज उठाउँदै राज्यलाई सकारात्मक खबरदारी गर्नुपर्ने र व्यवसायीको हक, हित तथा सुरक्षाको ग्यारेन्टी राज्यले गर्नुपर्नेमा जोड दिनुभयो । साथै निजी क्षेत्रलाई राज्यले सहयात्रीका रूपमा हेर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।
पोखरा उद्योग वाणिज्य संघकी महासचिव शोभा गौतमले निजी क्षेत्र देशको अर्थतन्त्रको मेरुदण्ड भएको बताउँदै व्यवसायीहरूले अधिकार मात्र होइन, समाधानतर्फ पनि उन्मुख हुनुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै, पोखरा चेम्बर अफ कमर्स कास्कीका अध्यक्ष उमराज बास्तोला, कपडा व्यवसायी एसोसिएसनका संस्थापक अध्यक्ष रामजी प्रसाद बास्तोला, सर्वेश्वर व्यवसायी समितिका अध्यक्ष छविलाल गौतम तथा पूर्वअध्यक्ष जनकराज पराजुलीले राज्यले व्यवसायीलाई सहयोगीका रूपमा व्यवहार गर्नुपर्ने र व्यवसायिक हक–हित संरक्षणमा ध्यान दिनुपर्ने धारणा राख्नुभयो । कार्यक्रममा संस्थाका संस्थापक कोषाध्यक्ष केदार मरासिनीलाई सम्मान गरिएको थियो ।
संस्थाका अध्यक्ष लेखनाथ पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष चोकबहादुर गुरुङले स्वागत मन्तव्य राख्नुभएको थियो भने सञ्चालन महासचिव पूर्णबहादुर थापाले गर्नुभएको थियो ।