मानव आवाज

२०८३ बैशाख ११ गते
00: 00: 00
२०८३ बैशाख ११ गते

व्यापारिक एशोसियसनद्वारा ५४ युनिट रगत सङ्कलन

पोखरा । पोखरा महानगरपालिका–४ महेन्द्रपुलस्थित बुद्ध विशाल बजार व्यापारिक एशोसियसनले आयोजना गरेको खुला रक्तदान कार्यक्रममा ५४ युनिट रगत सङ्कलन भएको छ ।

नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र, पोखराको प्राविधिक सहयोगमा आयोजित उक्त कार्यक्रम एशोसियसनको १२औँ रक्तदान अभियान हो ।

२०८२ चैत ७ गते सम्पन्न कार्यक्रममा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले पहिलो रक्तदाता तथा एशोसियसनका सल्लाहकार माधव सिग्देललाई ब्लड ब्याग हस्तान्तरण गर्दै कार्यक्रमको उद्घाटन गर्नु भयो ।

सो अवसरमा बरालले व्यापारीहरूको संस्था भए पनि एशोसियसनले सामाजिक उत्तरदायित्व बहन गर्दै विभिन्न सामाजिक कार्यहरू गर्दै आएको प्रशंसा गर्नु भयो ।

उहाँले सबै सङ्घसंस्थाहरू कानुनी दायराभित्र रही सञ्चालन हुनुपर्ने उल्लेख गर्दै नेपालको कानुनभन्दा माथि कोही पनि नहुने स्पष्ट पार्नु भयो ।

कार्यक्रममा पोखरा-२८ का वडा अध्यक्ष श्रीकृष्ण लामिछानेले एशोसियसनलाई आवश्यक पर्ने सहयोग तथा सुझाव प्रदान गर्न आफू प्रतिबद्ध रहेको बताउनु भयो ।

त्यस्तै पोखरा उद्योग वाणिज्य सङ्घका महासचिव शोभा गौतमले रक्तदानलाई सबैभन्दा ठूलो दानको रूपमा उल्लेख गर्दै एशोसियसनले गरेको कार्यको प्रशंसा गर्नु भयो र व्यवसायीहरूको हकहितका लागि आफू निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाउनु भयो ।

एशोसियसनका मानार्थ सदस्य तथा सल्लाहकार केशव बहादुर खत्रीले रगत किनेर वा खोजेर पनि सजिलै नपाइने भएकाले यसको महत्व अत्यन्तै ठूलो रहेको उल्लेख गर्दै समयमै रगत नपाउँदा मानवीय जीवन जोखिममा पर्ने बताउनु भयो ।

उहाँले एशोसियसनले सामाजिक उत्तरदायित्वअन्तर्गत १२औँ पटक रक्तदान कार्यक्रम आयोजना गरेको जानकारी दिनु भयो ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष माधव बराल, कस्मेटिक व्यवसायी सङ्घकी उपाध्यक्ष सरू बराल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

एशोसियसनका अध्यक्ष बुद्धिबहादुर कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संयोजन उपाध्यक्ष मनोहरी पौडेलले गर्नुभएको थियो ।

पौडेलले स्वागत मन्तव्यसहित कार्यक्रमको उद्देश्य स्पष्ट पार्नुभएको थियो भने महासचिव थमनसिंह गुरुङले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

Author

Related News