मानव आवाज

२०८३ बैशाख ३० गते
00: 00: 00
२०८३ बैशाख ३० गते

कास्कीमा एम्बुलेन्स सेवा थप व्यवस्थित बनाइँदै

पोखरा जिल्ला एम्बुलेन्स व्यवस्थापन समिति कास्कीले जिल्लाभित्र सञ्चालित एम्बुलेन्स सेवालाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन विभिन्न निर्णयहरू गरेको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीको सभाकक्षमा २०८३ वैशाख ३० गते बसेको समितिको बैठकले एम्बुलेन्स सञ्चालन, अनुगमन तथा व्यवस्थापनसम्बन्धी १० बुँदे निर्णय पारित गरेको हो ।

कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जिल्लाभित्र सञ्चालनमा रहेका सरकारी तथा निजी सबै एम्बुलेन्समा अनिवार्य रूपमा जीपीएस प्रणाली जडान गर्न तथा सञ्चालन अनुमति लिएर मात्रै सेवा सञ्चालन गर्न सम्बन्धित निकायलाई पत्राचार गर्ने निर्णय भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार एम्बुलेन्स सेवा निर्देशिका-२०७८ अनुसार सबै एम्बुलेन्सको नवीकरण विवरण अभिलेखीकरण गर्न र यसको प्रभावकारी कार्यान्वयनमा जोड दिइनेछ ।

एम्बुलेन्सहरू तोकिएको मापदण्डअनुसार सञ्चालन भए/नभएको अनुगमन गर्न रविन्द्र शर्मा बस्ताकोटीको संयोजकत्वमा सात सदस्यीय उपसमिति गठन गरिएको छ । उपसमितिले मापदण्ड नपुगेका एम्बुलेन्सलाई आवश्यक दायरामा ल्याउने काम गर्नेछ ।

त्यस्तै, ‘ख’ वर्गमा स्तरोन्नति हुन नसकेका एम्बुलेन्सलाई निर्देशिकाअनुसार बिरामी ओसारपसार गर्ने गाडीका रूपमा मात्रै सञ्चालन गर्न सूचित गरिने निर्णय गरिएको छ ।

उपभोक्ताको सहजताका लागि समितिले निर्धारण गरेको भाडादर सबैले देख्ने गरी एम्बुलेन्सभित्र अनिवार्य रूपमा टाँस गर्नुपर्ने व्यवस्था गरिएको प्रजिअ शर्माले बताउनुभयो ।

यसैगरी, एम्बुलेन्स सञ्चालन गर्ने संस्थाले आम्दानी तथा खर्चको विवरण नियमित रूपमा अद्यावधिक गरी प्रादेशिक जनस्वास्थ्य केन्द्र कास्कीमा बुझाउनुपर्ने निर्णय पनि गरिएको छ ।

बैठकले एम्बुलेन्स चालकका लागि अनिवार्य पोशाकको व्यवस्था गर्ने तथा आगामी आर्थिक वर्ष २०८३/०८४ मा सचेतना र अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।

वर्षायाममा हुन सक्ने सम्भावित विपद्लाई ध्यानमा राख्दै आवश्यक पर्दा तत्काल परिचालन गर्न सकिने गरी एम्बुलेन्स र चालकलाई तयारी अवस्थामा राख्न सम्बन्धित निकायलाई पत्राचार गरिने भएको छ ।

साथै जिल्लाभित्र सञ्चालित सबै एम्बुलेन्सको विवरण एकीकृत रूपमा ‘विपद् पोर्टल’मा राख्न सिफारिस गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकमा विभिन्न सरकारी निकायका प्रतिनिधि, एम्बुलेन्स सञ्चालक, स्वास्थ्य क्षेत्रका विज्ञ तथा सरोकारवालाले आ-आफ्ना समस्या र सुझाव प्रस्तुत गरेका थिए ।

Author

Related News